Logo
Logo

प्रहरी हिरासत छल्न बिरामीको ‘स्वाङ’ पार्नेहरू


7.9k
Shares

काठमाडौं । पछिल्लो समय विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ठूला ठूला व्यक्तिहरु एकपछि अर्को गर्दै पक्राउ पर्ने क्रम जारी छ । सरकार भ्रष्टाचारविरुद्धको अभियानमा कडाईका साथ उत्रिँदा विभिन्न अपराधमा संलग्न ठूला ठूला व्यापारी तथा नेताहरुलाई पक्राउ गर्न प्रहरी सफल भइरहेको छ ।

पक्राउ परेका अधिकांशलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हुन्छ । तर उनीहरू पक्राउ परेपछि प्रहरी हिरासतमा बस्दैनन्, बिरामी हुन्छन् र अस्पताल भर्ना हुन्छन् । सामान्य रूपमा हेर्दा पक्राउ परेका यस्ता व्यक्तिहरू हिरासत छल्न विरामीको स्वाङ पार्छन् ।

हालै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे । उनलाई कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो । उनीमाथि नागरिक किर्ते गरेको आरोप छ । तर, उनी हाल प्रहरी हिरासतमा छैनन् । स्वास्थ्यमा समस्या देखाउँदै सिरोहिया जनकपुरस्थित काव्या अस्पताल भर्ना भएका छन् ।

उनीमात्र होइन, यसअघि पनि विभिन्न काण्ड तथा अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरू प्रहरी हिरासत छल्न अस्पताल भर्ना भएका कैयौं उदाहरणहरु छन् । पछिल्लो पटक बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा अस्पताल भर्ना भए ।

पक्राउ परेपछि उनीहरु एकाएक बिरामी भए । र, अस्पताल भर्ना भए । थापालाई मुटुको समस्या र चौधरीलाई सुगर÷प्रेसरको समस्या रहेको भन्दै उनीहरूलाई बसुन्धारास्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै अभिनेता अनमोल केसी पनि फौजदारी मुद्दाअन्तर्गत आपराधिक विश्वासघातमा पक्राउ परे । पक्राउ पर्नुअघिसम्म तन्दुरुस्त नै देखिन्थे । तर पक्राउ परेलगत्तै उनी प्रहरी हिरासतमा नबसेर स्वास्थ्यको कारण देखाउँदै एकाएक महाराजगन्जस्थित चिरायु अस्पतालको सुविधासम्पन्न क्याबिनमा बस्न पुगे ।

प्रहरीले पक्राउ गर्दाको अवस्थामा स्वस्थ रहेका केसी कम्तीमा दुई रात हिरासतमा बस्नुपर्ने निश्चित भएसँगै ‘अस्वस्थ’ भए । र अस्पतालको क्याबिनमा पुगे ।

्त्यस्तै पूर्व सभामुख कृष्णबहादुर महारा पनि पक्राउ परेको केही दिनपछि स्वास्थ्यमा समस्या आएको दाबी गर्दै नर्भिक अस्पताल भर्ना भएका थिए । उनी हिरासत छल्न २४ दिन अस्पतालको क्याबिनमा बसेका थिए । पछि अदालतले पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेपछि त्यहाँको प्रशासनले उनलाई अस्पताल बस्ने अनुमति दिएन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी पनि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए ।

त्यसैगरी बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ पनि हिरासत छल्नकै लागि करिब ६० दिन त्रिवि शिक्षण अस्पतालको क्याबिनमा बसेका थिए । सोही प्रकरणमा पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा पनि अस्पतालमै बसेका थिए ।

२०७८ साल कात्तिकमा लक्ष्मीपूजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा हिरासत छल्न जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा बसेका थिए । भ्रष्टाचार अभियोगमा पक्राउ परेका राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा पनि वीर अस्पताल र नर्भिकमा बसेका थिए ।

२०६९ सालमा डिडिसिको ठेक्का लिन नक्कली कागजात बनाएपछि पक्राउ परेका गोविन्दलाल संघाई पनि अस्पताल भर्ना भएका थिए । बलात्कारको आरोप लागेका कृष्णदास गिरी ‘सिद्धबाबा’ प्रहरीको हिरासत छल्न लामो समयसम्म अस्पताल बसेका थिए । उनलाई उच्च अदालत विराटनगरले तीन जना सरकारी डाक्टरले सिफारिस गरेपछि मात्रै अस्पताल बस्न पाउने आदेश गरेपछि उनी विराट नरसिंह होमको भीआईपी क्याबिनबाट बाहिरिन बाध्य भएका थिए ।

अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्व सभासद् गायत्री साह पनि अस्पतालमा बसेकी थिइन । गौरी ज्ञवाली पनि अस्पताल बसेकी थिइन् । कमसल धितो राखेर सिद्धार्थ विकास बैंकबाट १३ करोड रुपैयाँ कर्जा लिई बदमासी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी उनी अस्पताल भर्ना भएकी थिइन् ।

प्रहरीको हिरासतमा रहेका जोकोहीको पनि स्वास्थ्यमा समस्या आए उपचारका लागि सरकारी अस्पताल लैजानुपर्ने नियम छ ।कहिलेकाहीं अवस्था हेरेर हिरासत नजिकैको निजी अस्पताल लगिए त्यसलाई व्यावहारिक रूपमा अन्यथा मानिँदैन । तर, पहुँच भएका अधिकांश भिआइपीहरु विरामीको बाहाना बनाएर अस्पताल भर्ना हुन पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्