Logo
Logo

मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको छ : खिलराज रेग्मी


189
Shares

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पछिल्लो समय मुलुकले पूर्वाधारका क्षेत्रमा फड्को मार्न थालेको बताएका छन् । गणतन्त्र दिवस-२०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उनले सडक, विद्युत् र डिजिटल पूर्वाधरलगायतको विकासबाट मुलुक समृद्धिको यात्रामा अघि बढ्दै गरेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले नेपाल गतिशीलरुपमा विकासका काम गर्दै अघि बढिरहेको छ भन्ने सन्देश तस्बिर प्रदर्शनीले दिएको बताए । पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुला तथा हिमालदेखि तराईसम्मका भूभागमा भइरहेका विकास निर्माणका गतिविधि प्रदर्शनीमा राखिएकाले पूर्वाधारका क्षेत्रमा गतिशीलता रहेको स्पष्ट परेको उनको भनाइ थियो ।

‘प्रदर्शनीले तमोर, कोशी, कालीगण्डकी र कर्णाली करिडोर तथा मानव विकास सूचकलगायत पूर्वाधारका प्रगतिका सम्बन्धमा स्पष्ट पारेको छ’, पूर्वअध्यक्ष रेग्मीले भने, ‘प्रदर्शनीले नेपालमा पूर्वाधारका क्षेत्रमा केही पनि भएको छैन भन्ने गलत ‘भाष्य’लाई चिरेको छ ।’

‘समृद्धिको आधार क्षेत्रगत पूर्वाधार’को विकास भएको उल्लेख गर्दै उनले विकाशील मुलुकका लागि पूर्वाधार महत्वपूर्ण पक्ष भएको बताए । ‘नेपालभर पूर्वाधारका क्षेत्रमा भइरहेका गतिविधिको झझल्को प्रदर्शनीले दिएको छ, पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्मका विकासका गतिविधि समेटिनु सकारात्मक पहल हो’, पूर्वअध्यक्ष रेग्मीले भने ।

मुलुकलाई आर्थिक समुन्नतिको बाटोमा अघि बढाउन रोजगारी र उत्पादकत्व वृद्धि अनिवार्य सर्त भएको जनाउँदै पूर्वअध्यक्ष रेग्मीले सीमान्तकृत वर्गले समृद्धिको महसुस गर्न सक्नुपर्ने बताए । निर्माण भइरहेका आयोजनालाई सम्पन्न गरेर पूर्वाधारका क्षेत्रमा फड्को मानुपर्नेमा जोड दिँदै उनले आयोजना सुरु गर्ने तर निर्धारित समयमै पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

‘नेपालमा आयोजना सुरु हुने तर समयमै सम्पन्न नहुने अवस्था देखिएको छ, आयोजना सुरु गर्नुअगावै लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ’, पूर्वअध्यक्ष रेग्मीले भने, ‘थालनी गरेको परियोजना सम्पन्न गर्दै जाने र नयाँ योजनाको काम पनि अघि बढाउँदै जानुपर्छ ।’ आयोजना समयावधिभित्रै निर्माण सम्पन्न नहुनुमा कार्यान्वयन पक्ष कमजोर भएको पाइएको उल्लेख गर्र्दै उनले यसलाई सुधार गरेर लैजानुपर्ने बताए ।

पूर्वअध्यक्ष रेग्मीलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, प्रधान सम्पादक उत्तम सिल्वाल र प्रशासन प्रमुख शीतल महतोलगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएका थिए ।

यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनःनिर्माणपछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौं-मधेस दू्रतमार्ग, थानकोट-नागढुङ्गा सुरुङमार्ग, सुनकोसी-मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजना लगायत तस्बिर समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्