Logo
Logo

वीरगन्जलाई आर्थिक राजधानी घोषणा गराउन दबाब दिँदै आजपा


126
Shares

वीरगन्ज । आम जनता पार्टी (आजपा)ले ‘वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गराउन’ बृहत् भेलाको आयोजना गर्दै छ । उक्त भेला आउँदो बुधबार वीरगंजको टाउनहलमा हुने छ । 

आजपा जिल्ला कमिटी पर्साको आयोजनामा हुन लागेको भेला पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आथित्यमा हुनेछ । 

भेलामा वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्जका उद्योगी व्यापारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बारा र पर्साका जनप्रतिनिधिहरू लगायतको विशेष सहभागिता हुने आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशीकले जनाएका छन् । 

देशको प्रमुख आर्थिक केन्द्र, सबैभन्दा बढी राजस्व उठ्ने ठाउँका साथै उद्योग व्यापार सबैभन्दा बढी भएको वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गराउन सरकारलाई दबाब दिने उद्देश्यले भेलाको आयोजना गरिएको आजपा मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहाले जनाएका छन् । 

‘वीरगन्ज देशकै आर्थिक राजधानी हो । बारा, पर्सामा सबैभन्दा बढी उद्योग व्यापार हुने ठाउँ हो । सबैभन्दा बढी राजस्व वीरगन्ज भन्सारबाटै उठ्ने गरेको छ’ कुशवाहाले भने, ‘वीरगन्ज देशकै आर्थिक राजधानी भएकाले यसको विकास त्यही रुपमा हुनुपर्छ । राजस्व उठाउने तर यहाँ सरकारले लगानी नगर्ने विषय राम्रो होइन । त्यसैले हामीले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गरेर यहाँ त्यही हिसाबले सरकारले लगानी गर्नुपर्छ भन्ने माग गरेको हो ।’ 

कार्यक्रमलाई सफल पार्नका लागि आजपाले विभिन्न ठाउँमा छलफल गरिरहेको छ । विभिन्न ठाउँमा भेला, छलफल एवं कमिटी निर्माण गर्दै आजपाका नेताहरू अगाडी बढिरहेका छन् । सोही क्रममा आज पर्साको पोखरी नगरपालिकाको वडा नं. ७ मा वडा स्तरीय महिला भेला सम्पन्न भएको छ । 

आजपा निकटको आम महिला मोर्चाको सो भेलाबाट अध्यक्षमा शोभा देवी, उपाध्यक्षमा लक्ष्मी देवी, उमा देवी, कलावती देवी सचिवमा सुशीला देवी, सहसचिवमा शिवदुलारी पासवान रहेको ४१ सदस्यीय कमिटी गठन भएको आजपा पर्साका इन्चार्ज कदम रसुलले जनाएका छन् । 

आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाका अनुसार विभिन्न ठाउँमा भइरहेको भेला, छलफलहरूमा पार्टीका सचिव कौशीक, प्रदेश अध्यक्ष कुशवाहा, पर्सा सचिव विश्वराज पटेललगायतको विशेष सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्