Logo
Logo

सुदूरपश्चिममा किन रोकियो मन्त्रिपरिषद विस्तार ?


819
Shares

कैलाली । एक महिना बढी भइसक्दा पनि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन ।

बैशाख ६ गते संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका सोडारीले यही जेठ ३ गते विश्वासको मत प्राप्त गरिसकेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत पाएपछि पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । उनले विश्वासको मत पाएलगत्तै भनेका थिए, ‘एक दुई दिनमै मन्त्रिपरिषद विस्तार हुन्छ ।’

तर, उनले यसो भने साता दिन वित्न लाग्यो । मुख्यमन्त्री सोडारी अहिले पनि मन्त्रिपरिषद विस्तारका लागि छलफल भइरहेको बताउँछन् । आइतबार प्रदेशसभा बैठकपछि मुख्यमन्त्री सोडारीले भने, ‘अब केही दिनमै सरकार विस्तार हुन्छ । सरकार विस्तारबारे केन्द्रमा छलफल भइरहेको छ ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरूबिच छलफल र संवाद भइरहेको भन्दै सरकार विस्तारमा अब धेरै समय नलाग्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारी भन्छन्, ‘अब १२ दिनभित्रै सरकारले पूर्णता पाउँछ ।’
एकीकृत समाजवादी प्रदेश संसदीय दलका उपनेता प्रकाश रावलले भने नेकपा एमाले र माओवादी केन्द्रका कारण सरकार विस्तारमा ढिलाइ भएको बताउँछन् ।

मुख्यमन्त्रीमा नियुक्त भएकै दिन सोडारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए । त्यसको एक साता नाउपाकै टिका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका थिए । त्यसयता कुनैपनि पार्टीका सांसदले मन्त्रीको जिम्मेवारी पाएका छैनन् ।

एमालेले सरकारमा सहभागी नभएर बाहिरबाटै सरकारलाई साथ दिने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता राजेन्द्र रावल भन्छन्, ‘हामीलाई अहिले सरकारमा सहभागी हुन कुनै हतार छैन । हामीले सरकारलाई समर्थन गरेकै छौँ । विश्वासको मत दिएकै छौँ । फेरि मन्त्री बन्नैपर्छ भन्ने छ र ?’

यस्तै, माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरूको लर्काे लागिरहेको छ । माओवादी संसदीय दलका नेता मानबहादुर धामीले सरकार विस्तारको सकस बअ धेरै नरहने बताउँछन् । उनले भने, ‘अब चाँडै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ । अब सकस छैन ।’

यहाँ माओवादीका सभामुखबाहेक १० जना सांसद छन् । तीमध्ये अधिकांश सांसद मन्त्री बन्ने लबिङमा छन् । यसअघि मन्त्री भइसकेका झपट साउद र रमेश धामीलाई पुनः मन्त्री बनाउने सम्भावना छ । माओवादी स्रोतका अनुसरा उनीहरुबाहेक अक्कल रावल वा शिवसिंह ओलीमध्ये एकजना र ओमविक्रम भाट वा लक्ष्मी विकमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा लबिङ भइरहेको छ ।

माओवादीले अर्थ मन्त्रालय पाउँदा खगराज भट्टलाई उक्त जिम्मेवारीमा पठाउनेबारे छलफल भइरहेको बताइन्छ । तर, भट्टले उक्त जिम्मेवारी लिने विषयमा अझै स्वीकृति जनाइसकेका छैनन् । यसअघि नै आफूलाई बहुमतबाट संसदीय दलको नेताबाट हटाइएको भन्दै अझै सोही जिम्मेवारीको माग गरिरहेका छन् ।

हालको संसदीय दलको नेता मानबहादुर धामीभन्दा माथिको बरियतामा राख्ने निर्णय गरिएको थियो । त्यसपछि भट्ट संसदीय गतिविधिमा सक्रिय छैनन् ।

एमालेले भने कहिले सरकारमा सहभागी हुने भन्ने विषयमा कुनै निर्णय गरिसकेको छैन । एमालेबाट सरकारमा सहभागी हुने अवस्थामा सुरेन्द्र पाल मन्त्री बन्ने पक्का जस्तै भएको एक एमाले नेताले बताए । उनका अनुसार त्यसबाहेक पार्टीले सन्तोष शर्मा थापालाई मन्त्री बनाउने सम्भावना प्रवल छ ।

तर, थापाले भने मन्त्रीको जिम्मेवारी लिने विषयमा आफू सकारात्मक नभएको बताएका छन् । थापा मन्त्री नहुने अवस्थामा वीरबहादुर थापा, दमन भण्डारी र धर्मराज पाठकमध्ये एकजना मन्त्री बन्ने छन् । तर, अहिलेसम्म एमालेले सरकारमा सहभागी हुने कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्