Logo
Logo

चौतर्फी आलोचना भएपछि महजोडीले अष्ट्रेलियाबाटै माफी मागे


3.3k
Shares

काठमाडौं । वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाबाट माफी मागेका छन् ।

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बचाउमा बोलेकोप्रति महजोडीले अष्ट्रेलियाबाटै माफी मागेका हुन् । मह जोडीले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् । उनीहरुले अपर्झट प्रतिक्रिया दिनुपर्दा आफुहरु अल्मलिएको प्रस्टीकरण दिएका छन् ।

भिडिओ सन्देश मदनकृष्णले भने, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । त्यसमा उनीहरूले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको निर्दोषिताको वकालत गरेका थिए । उनीहरूको अभिव्यक्ति निकै विवादमा परिरहेको थियो । जसको कारण उनीहरूको अष्ट्रेलियाको कार्यक्रम पनि प्रभावित भएको थियो । उनीहरूको शोमा आउन टिकट काटेका धेरैले धमाधम टिकट रद्द गरिरहेका छन् । यसबाट दबाबमा परेपछि महजोडीले मुख खोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्