काठमाडौं । लामो समयदेखि रोकिएको सार्वजनिक निष्कासन खोल्ने तयारी भएको छ । नेपाल धितो पत्र बोर्डले रोकिएको निष्कासनहरू अब खुल्ने बताएको छ । नयाँ कानुनी व्यवस्था अनुसार बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेका सहसचिव नरेन्द्र कुमार रानाले लामो समयदेखि रोकिएका सार्वजनिक निष्कासनहरू छिट्टै खुल्ने बताएका छन् ।
बोर्डले २०८० पुस १९ गते अन्तिम पटक रिलायन्स स्पिनिङ मिल्सलाई बुक बिल्डिङमा आइपिओ निष्कासन गर्ने अनुमति दिएको थियो । त्यस्तै, रिडी हाइड्रो पावरले पनि पुस १९ गते नै हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको थियो । अर्थात् अब करिब पाँच महिनापछि आइपिओ र हकप्रद सेयरको निष्कासन खुल्ने भएको हो । ‘नियम पुरा गरेका कम्पनीहरूको सार्वजनिक निष्कासन अब खुल्छन्’, बोर्डमा अध्यक्षको जिम्मेवारी सम्हालिरहेका सहसचिव रानाले भने ।

यस अघि बोर्डमा अध्यक्षको जिम्मेवारीमा रहेका सहसचिव रितेश शाक्य विभिन्न विवादहरूमा तानिएपछि अर्थमन्त्री वर्षमान पुनले रुकुम पश्चिम स्थायी घर भएका रानालाई बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् ।
बोर्डमा पुस २१ गतेदेखि अध्यक्ष पद रिक्त थियो । अध्यक्ष छनौट प्रक्रिया अघि बढेर पनि कर्पोरेट घरानाहरूले आफू अनुकूल पात्रहरू ल्याउनका लागि अनेकौँ दबाब बढाएपछि अध्यक्ष नियुक्ति प्रक्रिया बिचमै रोकिएको छ । पूर्ण कालिन जिम्मेवारीसहित नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि रानाले नै बोर्ड अध्यक्षका रुपमा काम गर्नेछन् । ‘नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया जारी छ, म बिचको अवधिमा नियमित काम गर्नेगरि आएको हुँ, दीर्घकालीन महत्वका कामहरू भावी अध्यक्षले गर्नुहुनेछ, बजार सम्बद्ध नियमित कामहरू भने मैले सुरु गरिसकेको छु’, अध्यक्ष रानाले भने ।
बोर्डमा अध्यक्ष बन्नका लागि आवेदन दिएकाहरूमध्ये डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की र सन्तोष नारायण श्रेष्ठको नाम अन्तिम पाँचमा छानिएको छ । उनीहरूमध्येबाटै एक जनालाई बोर्ड अध्यक्ष बनाइनेछ । तर नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि व्यवसायीक घरानाहरूले आफू अनुकूल अध्यक्ष बनाउन चर्को दबाब दिएपछि अर्थमन्त्री पुनले प्रक्रिया नै रोकिदिएका छन् ।
हिमालयन स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिएको दीपक भट्ट समूहले सन्तोष नारायण श्रेष्ठलाई अघि सारेको छ भने मुक्तिनाथ श्रेष्ठ दोस्रो प्राथमिकतामा छन् । बुटवलका सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनमाथि दबाब दिइरहेका छन् ।
उता, व्यवसायी चन्द्र ढकालहरूको समूहले भने चिरञ्जीवी चापागाईँ र कृष्ण कार्कीमध्ये एक जनाको नाम अघि सारेका छन् । डा. नवराज अधिकारीले भने आफू प्रधानमन्त्री प्रचण्डको आफन्त भएको बताउँदै अध्यक्षमा दावे दारी पेस गरिरहेका छन् ।














