Logo
Logo

ठगी र वित्तीय अपराधको अनुसन्धान हङकङ प्रहरीको प्राथमिकतामा


189
Shares

एजेन्सी । हङकङ प्रहरीले सीमापार हुने अपराधको स्वरूप तिब्र रूपमा परिवर्तन भइरहेकाले ठगी तथा वित्तीय अपराधसम्बन्धी अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रहरी आयुक्त चाउ याट–मिङले यस्तो बताएका हुन् । हङकङमा इन्टरपोलको ९४औँ महासभा आयोजना हुन लागेको सन्दर्भमा उनले सम्मेलनलाई विभिन्न देश तथा क्षेत्रका सुरक्षा निकायसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उपयोग गरिने बताए ।

सम्मेलनका क्रममा द्विपक्षीय बैठक, सूचनाको आदानप्रदान तथा अनुसन्धान क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई अघि बढाइने उनको भनाइ छ । आगामी नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म आयोजना हुने महासभा चीनले आयोजना गर्न लागेको तेस्रो अवसर हो भने हङकङमा पहिलोपटक हुन लागेको हो । यस्तो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न पाउनु हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका लागि सम्मानको विषय भएको चाउले बताए ।

उनले ‘एक देश, दुई प्रणाली’ व्यवस्थाको प्रभावकारिता र उपलब्धि विश्वसामु प्रश्तुत गर्ने तथा हङकङ प्रहरीको क्षमता र शहरको पहिचान अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्ने अवसरका रूपमा सम्मेलनलाई लिइएको बताए ।

इन्टरपोलका महासचिव भाल्देसी उर्किजाकाअनुसार सम्मेलनमा १९६ सदस्य राष्ट्र तथा क्षेत्रका दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । उनीहरूले कानुन कार्यान्वयनका प्राथमिकता र चुनौतीबारे छलफल गर्नुका साथै इन्टरपोल तथा सदस्य राष्ट्रहरूका लागि अपराध नियन्त्रणसम्बन्धी रणनीति विकास गर्न सहयोग गर्नेछन् ।

उर्किजाले हङकङ वित्त, व्यापार र डिजिटल सेवाको प्रमुख केन्द्र भएकाले अन्तर्राष्ट्रिय सुरक्षा निकायबीच सहकार्य र समन्वयका विषयमा छलफल गर्न उपयुक्त स्थान भएको बताए । उनका अनुसार सम्मेलनमा आपराधिक सङ्गठनको वित्तीय सम्पत्ति, कृत्रिम बुद्धिमत्ता (एआई) सँग सम्बन्धित अपराध तथा विश्वव्यापी ठगीजस्ता विषयमा विशेष छलफल हुनेछ ।

विभिन्न देश तथा क्षेत्रका सुरक्षा निकायसँग सहकार्य थप सुदृढ गर्ने प्रयासस्वरूप हङकङ इन्टरनेसनल एकेडेमी अफ पुलिसिङ पनि नोभेम्बरमा सञ्चालनमा आउने तयारी छ । प्रहरी आयुक्त चाउकाअनुसार एकेडेमीले अन्तर्राष्ट्रिय अनुभव हङकङमा भित्र्याउनुका साथै हङकङको प्रहरी अभ्यास र अनुभव विश्वसामु साझा गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्