Logo
Logo

३८ लाख नेपाली सामाजिक सुरक्षा भत्ताको पहुँचमा


630
Shares

काठमाडौं । सामाजिक सुरक्षामा आबद्ध हुने नेपालीको संख्यामा बढ्दै गएको छ । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्षको फागुनसम्म सो संख्या ३८ लाख २ सय ७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ ।

६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २ सय ६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २ सय ७० छन् । यस्तै, विधवा महिला ५ लाख ७६ हजार ५ सय ५३, पूर्ण अपाङ्गता भएका ६६ हजार ४ सय ५२, अति अशक्त अपाङ्गता भएका १ लाख ४२ हजार १ सय ८५, तोकिएको क्षेत्रका बालबालिका संख्या ७ लाख ६१ हजार ९३ जना छन् ।

यसै गरी, दलित बालबालिका ३ लाख ४२ हजार १ सय ७६, लोपोन्मुख जाति २२ हजार २ सय ४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएकाको संख्या १६ हजार ८ सय ४४ छन् ।

हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो ।

सामाजिक सुरक्षामा सरकारले छुटाएको रकम कूल बजेटको १४. ७८ प्रतिशत, चालु बजेटको २२. ६७ प्रतिशत र कूल गृहस्थ उत्पादनको ५.५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष ०७०/०७१ मा कूल बजेटको ८.१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो ।

प्रतिक्रिया दिनुहोस्