Logo
Logo

बिपिसिले गरेको महसुल वृद्धि ठगी होः धनराज गुरुङ


4.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बुटवल पावर कम्पनी (बिपिसि)ले विद्युत् महसुलमा अस्वाभाविक शुल्क वृद्धि गर्नु ठग प्रवृत्ति भएको बताएका छन् । रिपोर्टस क्लबमा विद्युत् महसुल शुल्क वृद्धिविरुद्धमा गठित संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व कानुनमन्त्री समेत रहेका गुरुङले बिपिसिलाई जनता ठगेर नाफा नकमाउन चेतावनी पनि दिए ।

उनले अस्वाभाविक विद्युतमा महसुल वृद्धि गरेर बिपिसिले जनतामाथि कुठाराघात गरेको आरोप लगाए । ‘आकस्मिक ढङ्गबाट उपभोक्तालाई थाहै नदिई एउटा कुनामा बसेर नियमन निकायमा पत्र दर्ता गरेर त्यसैको आधारमा ४३ प्रतिशत मूल्य वृद्धि गर्ने कार्य अत्यन्त निन्दनीय छ,’ गुरुङले भने, ‘विद्युतका उपभोक्ता गल्याङ, चापकोट, रम्भा, रामपुर, वालिङ र भीरकोटमा छन् । बिपिसिले उपभोक्ता नै नभएको पुतलीबजारमा सार्वजनिक सुनाइ गर्नु जनतालाई झुक्काउने काम हो ।’

प्रतिनिधिसभाका सदस्य समेत रहेका उनले बिपिसिले त्यहाँका उपभोक्ताले गरेको सद्भाव, सहकार्य र श्रमदानलाई लत्त्याएर एकलौटी ढङ्गबाट जनताको टाउकोमा महसुल थुपार्ने काम खेदजनक रहेको बताएका छन् ।

गुरुङले जनताको बिपिसिप्रति गरेको सद्भाव र सहकार्यको इतिहासलाई नाफाको नाममा भुल्न नहुने बताएका छन् । उनले बिपिसिलाई बढाएको शुल्क यथाशीघ्र घटाउन आग्रह पनि गरे । ‘जनताको सरोकारका विषयमा हामी विभाजित हुँदैनौ ।’ उनले भने, ‘राजनीतिक विषयमा फरक ठाउँमा भएपनि जनताको समस्या समाधानको सवालमा एक ठाउँमा हुनेछौँ ।’

‘प्रधानमन्त्री, उर्जामन्त्री, विद्युत् प्राधिकरणका सिइओ एक ठाउँमा बसेर आँधीखोला हाईड्यामका बारेमा छलफल गरेका थियौँ’ गुरुङले भने, ‘कुलमान घिसिङले लेन इक्युजेसन सरकारले गरिदिए बाँकी काम हामीले गछौँ भनेर प्रतिबद्धता जनाएका थिए तरपनि यो काम ढिलो भयाे । यसको कारक बिपिसि नै हो कि भन्ने लाग्छ ।’

उनले बिपिसिले टाङ् अड्यादिएका कारण हाईड्याम बन्न नपाएको आरोप लगाए । उनले १८० मेगावाटको हाईड्यामलाई ९ मेगावाटले अल्झाउन खोजे विद्युत् प्राधिकरणले बिपिसि खरिद गरेर जानुपर्ने अवस्था हुन सक्ने बताए ।

पत्रकार सम्मेलनमा प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्य, स्याङ्जा पत्रकार समाजका अध्यक्ष इन्द्र रिजाल, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, अधिवक्ता अर्जुनकुमार अर्याल, माओवादी केन्द्र निकट स्याङ्जा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पितम गैरे, विद्यार्थी नेता युवराज पाण्डे, समाजसेवी सङ्कर गौतम लगायतले बिपिसिले गरेको अस्वाभाविक विद्युत् महसुल विरुद्ध सशक्त आन्दोलन गर्ने बताएका थिए ।

कार्यक्रममा संघर्ष समितिका संयोजक श्यामप्रसाद बस्यालले कार्यक्रमका बारेमा प्रष्ट पारेका थिए भने समितिका सदस्य भूपराज बस्यालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

संघर्ष समितिले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई समेत भेटेर बिपिसिले विद्युत् महसुलमा गरेको शुल्क वृद्धिको सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्