Logo
Logo

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चारमन्त्री


378
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।

१७औं गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै मन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कोहीलाई नहुने उल्लेख गर्दै गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्ने तथ्य स्थापित गरेर नै गणतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन सकिने बताएका हुन् ।

गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दै मन्त्री शर्माले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

‘बेपत्ता तथा घाइते यौद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु’, मन्त्री शर्माले भनेका छन् ।

‘नेपालमा दुई सय ४० वर्षको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष पूरा भएको छ । नेपाली जनताको त्याग र बलिदानबाट स्थापित पहिलो संविधासभाबाट २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएपछि नेपाली जनताले सार्वभौम नागरिकको हैसियत प्राप्त गरेका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सङ्घीयता, समावेशी–समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् । यिनै राजनीतिक उपलब्धिका जगमा हामीले गणतान्त्रिक राज्य व्यवस्थाको अभ्यास गरिरहेका छौँ’, शुभकामना सन्देशमा भनिएको छ ।

गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूलप्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएको मन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्