Logo
Logo

दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलन अपरिहार्य: प्रभु साह


1k
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भएको बताएका छन् । आजपाले मंगलबार काठमाडौंमा ‘गणतन्त्र कस्को ? दलको कि जनताको’ विषयक सर्वपक्षीय अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष साहले ठूलो बलिदानबाट प्राप्त गणतन्त्र मुट्ठीभरको स्वार्थमा सीमित भएकोले यसको विकल्प खोज्न जरुरी भएको बताएका छन् । अहिले देशमा वर्तमान व्यवस्था जनताको पक्षमा नरहेको बताउँदै साहले भने, ‘आम जनता लाचार, तर दलका नेता र तिनका सीमित आसेपासेहरू मालामाल रहेको कहाली लाग्दो स्थितिलाई हामीले कहिलेसम्म सहने ।’

वर्तमान लुटकारी चरित्रको दलाल दलतन्त्र र भगौडा पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्नेमा अध्यक्ष साहको जोड छ । ‘यो विकृत संसदीय व्यवस्थाको समूल नष्ट गर्दै आम जनताको सर्वोच्चतासहितको शासन–सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपिल गर्दछौँ ।’

क्रान्तिकारी कम्युनिस्टा पार्टीका प्रवक्ता धमेन्द्र बास्तोलाले वर्तमान संसदीय व्यवस्था दलालहरूको कब्जामा रहेको जिकिर गर्दै, यसको निकासका लागि विद्रोह गर्नुपर्ने धारणा राखे । बास्तोलाले अहिलेको खिचडी र स्वार्थ केन्द्रित व्यवस्थामा रहेर देश बरबाद भन्दा केही नहुने दाबी गरे । ‘यसको परिधिमा रहेर प्रचण्ड,केपी, प्रभु साह वा स्वयम म आफै भए पनि केही हुनेवाला छैन’ बास्तोलाले थपे ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले वर्तमान न्याय प्रणाली र देशको शासन प्रणाली जनमुखी नरहेकोले यसमा व्यापक संशोधन र सुधार गर्नु पर्नेमा जोड दिए । अध्यक्ष घिमिरेले हरेक नेता तथा कार्यकर्ता दलभन्दा माथि उठेर देश र जनताको पक्षमा लाग्नुपर्नेसमेत सुझाए ।

प्रा.डा. सुरेन्द्र केसीले जनताले ठूलो त्याग तपस्या गरेर ल्याएको गणतन्त्रलाई दलहरूले निश्चित वर्गको लुटको स्वर्ग बनाउने आधार बनाएको आरोप लगाएका छन् । उनले भारतमा संविधान निर्माण गर्दा ६ करोड लागेको तर नेपालको संविधान बनाउन अर्बाैँ लाग्नु दुःखद भएको बताए ।

संविधान निर्माण गर्दा खेरी नै देश कङ्गाल बनाउने आधार खडा भइसकेको थियो” एक अर्को प्रसङ्गमा डा. केसीले वर्तमान विज्ञान र प्रविधिको विकासले हरेकको हातहातमा मोबाइल भएपछि ठूला कर्पोरेट मिडिया आवश्यक नरहेकोसमेत बताए । उनले भने, ‘ठूला भनिएका मिडियामा जनताको विश्वास उडेपछि किन चाहियो कान्तिपुरजस्ता मिडिया ।’

नागरिक अगुवा सन्दरमणी दीक्षितले जन आन्दोलनमार्फत राजा फालेर ल्याइएको गणतन्त्रमा पनि अनगिन्ती छोटे राजाहरूले देशलाई असफल बनाउन लागेको आरोप लगाए । संसदीय व्यवस्थामा संसद् मन्दिर तुल्य भए पनि अहिले त्यसलाई मजाक बनाइरहेकोप्रति रोष प्रकट गर्दै दीक्षितले भने, ‘अहिले सत्ता र प्रतिपक्ष कोही पनि जिम्मेवार देखिएनन्, त्यसैले विद्रोह गरेर भए पनि यो व्यवस्था खारेज गरेर राष्ट्रपतीय प्रणालीमा जानुपर्छ ।’

लोकतन्त्रको सुन्दर पक्ष प्रेस स्वतन्त्रता भए पनि कैलाश सिरोहियालाई गिरफ्तार गरेर वर्तमान सरकारले शाही सत्ताको झल्को दिएको आरोपसमेत लगाए । उनले देशको प्रमुख दुष्मन भ्रष्टाचार भएको र संविधान संशोधन गरेर भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था गर्नु पर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्