Logo
Logo

सर्वोच्चको आदेशमा सुरेन्द्र पाण्डे आज गण्डकीको मुख्यमन्त्री नियुक्त हुँदै


567
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा आज कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो ।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी छ । मंगलबार सार्वजनिक बिदा भएकाले अदालतको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार पत्र आएपछि प्रदेश प्रमुखको निर्देशन अनुसार शपथको तयारी हुने छ । कांग्रेस संसदीय दलका नेता पाण्डे दोस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

पाण्डे मुख्यमन्त्री बने पनि गण्डकी सरकार स्थिर बन्ने अवस्था छैन । गण्डकीमा कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो दल हो । गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । उनलाई ३१ सांसदको समर्थन जुटाउन हम्मेहम्मे पर्नेछ ।

स्वतन्त्र सांसद राजीव गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदले समर्थन गरे पनि पाण्डेको पक्षमा ३० मत मात्र जुट्छ । पाण्डेले ३० दिनभित्र अर्थात् आगामी असार १३ भित्रै विश्वासको मत लिनैपर्छ । त्यसअघि नयाँ बन्ने सरकारलाई आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यव्रmम ल्याउनैपर्ने बाध्यता छ । पाण्डे सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट पारित हुने अवस्था छैन ।

गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित आठ र एक स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्