Logo
Logo

गृहमन्त्री विरूद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा


2.5k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट सर्वोच्‍च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।

सहकारी ठगीसम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई दिएको पत्र खारेज गर्न माग गरिएको रिटमाथि सुनुवाइका लागि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी÷जाहेरी नरहेको पत्र दिएको थियो ।

पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरी÷जाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर अदालतका मुख्य रजिष्ट्रारले उनको रिट दरपिठ गरिदिएका थिए । दरिपिठविरूद्ध भट्टराईले सर्वोच्च अदालतमा अर्को रिट दिएका थिए ।

गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजालसले अधिवक्ता भट्टराईको रिट दर्ता गर्न आदेश दिएको थियो।

भट्टराईले रिटमा महान्यायाधिवक्ता कार्यालयको पत्रको वैधतामाथि प्रश्न उठाएका थिए । रिटमा उनले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्