Logo
Logo

मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या क्याम्पसमा अक्षयकोष स्थापना


126
Shares

काठमाडौं । मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।

फाउन्डेसनले आज पद्मकन्या बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा राजनीतिक शास्त्र सङ्कायमा अध्ययन गरेर उत्कृष्ट हुने दुई छात्रालाई पुरस्कार प्रदान गर्नका लागि उक्त अक्षयकोष स्थापना गरेको हो । अक्षयकोष स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा आज पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयालक्ष्मी प्रधानको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष सिर्जना सिंह र क्याम्पसकी राजनीतिकशास्त्र विभाग प्रमुख सविता मल्लिकले हस्ताक्षर गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले पछिल्लो समय राजनीतिकशास्त्रमा अध्ययन गर्ने विद्यार्थी कमी हुँदै गएको बताए । ‘राजनीतिकशास्त्र राजनीति गर्नेका लागि मात्र होइन सबैले पढ्नुपर्छ,’ उनले भने । ब्याजबाट प्रत्येक वर्ष दुई छात्रालाई जनही रु १० हजार नगद, सम्मान र प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिए । सोही क्याम्पसकी विद्यार्थी एवम् नेपाली कांग्रेस महासमिति सदस्य सिर्जना मल्लले उक्त अक्षयकोषले विद्यार्थीलाई पढाइप्रति हौसला प्रदान गर्ने बताए । राजनीतिकशास्त्र अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा यस्ता कार्यले विद्यार्थीलाई आकर्षित गर्ने उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घका अध्यक्ष उषा राउत मिश्र, पद्मकन्या बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति विनिता अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्