काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनमा आज (बुधबार) हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा आजका लागि पेसी तोकिएको भए पनि अघिल्लो मुद्दाको सुनुवाइ लम्बिएका कारण ‘हेर्न नभ्याइने’ मा परेको हो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री भएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको जिकिर गरेका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले माओवादीलगायत सत्ता गठबन्धनका दलहरूको समर्थनमा ५२ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । उनले प्रदेशसभाबाट विश्वासको मत पनि लिइसकेका छन् ।
उनलाई पनि धारा १६८ को ५ नियुक्त गरिएको हो । कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो ।
तर, गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि उनी अल्पमतमा परेका थिए । २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।