Logo
Logo

कैलाश सिरोहिया हाजिरी जमानतमा छुटे


2k
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानतमा छुटेका छन् । उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन् ।

उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम परिवारका सदस्यको जमानतमा छोडिएको हो । सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक तीन दिनको म्याद थप गरेको थियो । तेस्रो पटक तीन दिनको म्याद थप गर्दा सिरोहियाको स्वास्थ्य अवस्थाको प्रतिकूलताको कारण उपयुक्त अस्पतालमा लगेर उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो ।

अनुसन्धानका लागि नागरिकता विवरण किताबमा रहेको हस्ताक्षर र हस्तलिखित नमूनाको परीक्षण प्रतिवेदन माग गरी मिसिल संलग्न गर्ने, सिरोहियाको औंठाछापको नमूना परीक्षणको लागि पठाउने र घटना विवरणका कागज बुझ्न जिल्ला प्रहरी कार्यालय काठमाडौं लगायत निकायबाट विवरण मगाउन बाँकी रहेको भन्दै धनुषा जिल्ला अदालतले सोमबार प्रहरीलाई तीन दिन म्यादका लागि अनुमति दिएको थियो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो । पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए ।

यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए । उनले राज्यले २०३३÷२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए । त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्