Logo
Logo

प्रहरीको उमेर हदबारे अध्ययन गृह मन्त्रालयले बनायो कार्यदल


1.8k
Shares

काठमाडौं । प्रहरीको उमेर हदबारे अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्य सचिव रहेका छन् ।

कार्यदललाई मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकल गर्न अध्ययन गरिने उल्लेख गरिएको थियो ।

बजेटको २५८औं बुँदामा भनिएको छ, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइनेछ । सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिनेछ ।’

संघीय निजामती विधेयकमा उमेर हद ६० वर्ष पुर्‍याउने प्रस्ताव गरिएपछि सुरक्षा निकायमा पनि त्यहीअनुसारको उमेरहद हुनुपर्ने माग हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्