Logo
Logo

फिल्मी शैलीको अपहरण र हत्या, अन्ततः मारिए एक ‘डन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । गत २८ पुसमा रुपन्देहीमा मोष्ट वान्टेड केदार सहनी प्रहरी इन्काउन्टरमा मारिए । कुनै समय एसपीकै टेबुल ठोकेर हिड्ने सहनी प्रहरीका लागि चुनौती बनेका थिए । त्यहीकारण प्रहरीले उनीविरुद्ध इन्काउन्टरको रणनीति बनायो ।

आकाश गुरुङ र केदार सहनी

चार वर्षअघि सहनीले सिद्धार्थनगरका आकाश गुरुङको अपहरणपछि हत्या गरेका थिए । जुन घटना फिल्मको कथाभन्दा कम छैैन । तर, उनको मरणलाई पनि प्रहरीले फिल्मी शैलीकै बनायो ।
कोरियाबाट फर्किएका गुरुङ मेनपावरका एजेन्टका रुपमा कार्यरत थिए । केही स्थानीय युवासँग उनको आर्थिक कारोबार समेत बिग्रिएको थियो । त्यही विवादलाई लिएर एक अपराधिक समूहले उनलाई अपहरण सुरु गरेका थिए ।
२०७१ साल भदौ २८ गते थियो त्यो दिन । यही दिन आकाश र उनको परिवारको दुःख सुरु हुन्छ । बिहान करिब साढे ८ बजे उनी बजार जान्छु भनेर निस्किएका थिए । तर, त्यो दिन उनी घर फर्किएनन् । बेलुका छोरा नआएपछि फोन गर्दा मोबाइल स्वीचअफ थियो । भोलिपल्ट आफू पाल्पामा रहेको र घर आउँदै गरेको भनेर आमालाई फोन गरेका थिए ।
तर, हत्तपत्त त्यसर बाहिर नजाने छोरा पाल्पा पुगेको खबर पाएपछि उनको आमालाई चिन्ता बढेको थिया्े । त्यसको दुई दिनपछि आएको फोनले परिवारमा रुवाबासी नै सुरु भयो । ‘तपाईको छोरा हाम्रो नियन्त्रणमा छ छोरा सकुशल चाहिन्छ भने १ करोड दिनुहोला बाँकी कुरा फेरी गरौला ’ भन्दै भारतीय नम्बरबाट फोन गरिएको थियो । हिन्दी लवचमा कुरा भएको थियो । त्यतिबेला आकाशको मोबाइल स्वीच अफ भएकाले अपहरण नै भएको निष्कर्षमा परिवार पुग्यो ।

भेट्न बोलाएर अपहरण
एक करोड फिरौती मागेर धम्काएपछि परिवारले प्रहरीलाई खबर गरे । प्रहरीले केन्द्रीय स्तरबाट समेत अनुसन्धान अघि बढायो ।
गुरुङकै चिनजानका सफिक मुसलमान र यादब कुँवरले भेट्न बोलाएर उनलाई अपहरण गरेका थिए । जसमा मुसलमानका साथै केदार सहनी अपहरणका मुख्य योजनाकार थिए । प्रहरीका अनुसार गुरुङमार्फत चिनजान भएका कृष्ण भट्टराईले मुसलमानको छोरालाई विदेश पठाइदिने भन्दै ६ लाख ३० हजार दिएका थिए भट्टराई सम्पर्कविहिन भएपछि उनले गुरुङलाई नै दबाब दिएका थिए । कुँवरको पनि त्यसैगरी एक लाख फसेको थियो ।
मुसलमानले पैसा उठाउन डन सहनीलाई लगाए । सोहीअनुसार अपहरणको योजना बन्यो । त्यही अनुसार घटनाको अघिल्लो दिन सफिक मुसलमानले पीडित आकाश गुरुङलाई फोन गरी भोली परासी जानुप¥यो अलिकति पैसा जम्मा गर्नुछ भनेर बोलाएका थिए ।
सोहीअनुसार सफिक मुसलमान र आकाश गुरुङ होटल यति प्यालेस छेउ बसपार्कमा भेट गरी दुबै जना बस चढेर परासी तर्फ गएको र परासीमा गई बुद्ध चोकमा झरे । बुद्ध चोकमा पुग्दा योजना अनुसार कालो रङको हिरोहिण्डा मोटरसाईकलमा पर्खेर बसेको केदार सहनीले पठाएको रामजित हरिजन भन्ने मानिसलाई भेटे । त्यसपछी रामजित र सफिकले आकाशलाई बिचमा राखि तीनै जना सोही मोटरसाईकलमा परासीको सरावल भन्ने स्थान आसपास बाँया पट्टी नहर र दायाँपट्टी उखु खेत भएको स्थानमा गए । योजना अनुसार केदार सहनी र अन्य २ जना पहिले नै त्यस स्थानमा गई बसेको थिए । गुरुङलाई सो स्थानमा पु¥याएपछी केदार सहनी र रामजितले आकाशलाई अर्काको पैसा खाएर बिचल्ली पार्ने भन्दै १।२ थप्पड हाने । त्यसपछी सफिक मुसलमानलाई रामजितले मोटरसाईकलमा राखी परासीको बुद्धचोक ल्याएर छाडिदिए । सफिकले गाडी चढेपछि आफ्नो मोबाईल नंवर ९८१४४१९९२६ बाट केदारलाई उसको ९८१२९७५५४४ नंवरको मोबाईलमा फोन गरी पैसा लिएपछि आकाशलाई छाडिदिनु भनेको र घरमा आई बसेको साथै ३ दिन पछाडी छोरीलाई केटा हेर्न भनि भारत गए ।
केदार, रामजित र अन्य २ जना भई आकाशलाई मोटरसाइकलमा राखी भुताहा स्थित हरियाली सामुदायिक वन समितिको कार्यालयमा लगे । वन समितिका अध्यक्ष देवानन्द सिंह फौजदार र नन्दु लाल चौधरी समेतलाई भेट गरि अपहरित आकाश गुरुङलाई वन्धक वनाई राख्नको लागि स्थानको ब्यवस्था गर्न लगाइएको थियो ।
फौजदारले उनीहरुलाई नवलपरासी धुर्कोट गाविस वडा नं. ७ अम्बास स्थित देवानन्दको मित धन बहादुर दर्लामीको घरमा पुर्याइदिन नन्दु लाल चौधरीलाई लगाएको र नन्दु लालले सोही अनुसार उनीहरुलाई लिई गई उक्त स्थानमा लगिएदिए । नन्दु लाल चौधरी र एक जना अपहरणकारी पुन मोटरसाइकलमा भुताहा फर्केकोमा २ जना अपहरणकारी र अपहरित आकाश गुरुङ धन बहादुर दर्लामीको घरमा नै बसे ।
२८ गते दिउँसो करिब चार बजे आकाशले प्रयोग गर्ने एनसेलको मोबाईल नंवर ९८१७४२६२०९ बाट आमालाई मोबाईल नंवर ९८४७०३९४१५ मा फोन गरी आफू पाल्पामा भएको र भोली घर आउँछु भन्न लगाएका थिए । त्यसपछिका चार दिन उनीहरुले गुरुङलाई त्यही बन्धक बनाएर फिरौती माग्न थाले । ३१ गतेदेखि अपराध महाशाखाबाट समेत प्रहरी अनुसन्धानमा खटिएको थियो ।

घरमा फोटो र भिडियोको खाम
१ गते गुरुङको सिद्धार्थनगरको बर्मेलीटोलस्थित घरमा एउटा खाम पुग्छ । खाममा ढुंगा राखेर घरमा फालिएको थियो । जसमा एउटा मेमोरी कार्ड थियो । जसमा गुरुङलाई नांगो बनाएर दुई व्यक्तिले पेस्तोल ताकिरहेका छन् । साथै पैसा बुझाएर आफूलाई रिहा गर्न भन्दै गुरुङले परिवारलाई आग्रह गरेको भिडियो समेत त्यसमा थियो । त्यो हेरेपछि परिवारमा थप रुवाबासी भयो ।
प्रहरीले मोबाइलका अनुसार अनुसन्धान अघि बढाइरहेको थियो । उता गुरुङलाई त्यो घरमा राख्न गाह्रो भइरहेको थियो, दर्लामीको परिवारसमेत डराएको थियो । त्यहीकारण उनलाई जंगलमा लगेर राखे । त्यही क्रममा असोज ३ गते गुरुङ बेपत्ता भए ।
आकाश भागेपछि उनीहरुले उनको आमालाई ६ फोन गरी फिरौती दिन दबाब दिए । उनकी आमाले ६ लाख रुपैयाँ भन्दा धेरै जम्मा गर्न नसकिएको बताइन् । ६ लाख छोराको कफन किन्न खर्च गर्नु, भने जति भएन भने प्रत्येक दिन हातको १÷१ वटा औंला काटेर खाममा पठाउने भन्दै’ फोन राखे ।
यता अपहरणकारीले आकाशको खोजी जारी राखे । असोज ४ गते बिहान आकाशलाई उनीहरुले धुर्काेट–८ स्थित जंगलको खोलामा चाउचाउ खाइरहेको अवस्थामा फेला पारे । त्यो दिन उनको आमालाई उनकै नम्बरबाट फोन गर्न लगाई अपहरणकारीले भनेजस्तै गरिदिन्छु म फर्कन चाहन्छु भन्दै निकै डराएको स्वरमा फोन गर्न लगाएका थिए । तर पनि फिरौती भनेजति नआउने ठानेपछि उनीहरुले जंगलमा लगेर गुरुङको हत्या गरेका थिए । असोज ११ गते बिहान बर्दघाट नगरपालिका १० बस्ने जगन्नाथ भुषालले जगलमा लास भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बुझ्दा लाश अपहरित गुरुङकै भएको पुष्टि भयो र अनुसन्धान सो आसपास केन्द्रीत ग¥यो ।
त्यसअघि नै प्रहरीले अपहरणकारीलाई सघाउने देवानन्द फौज्दारलाई पक्राउ गरेको थियो । उनले घटनामा संलग्न १ जना भारतीय मुलको जस्तो देखिने मानिस र १ जना मधेशी मुलको जस्तो देखिने व्यक्ति संलग्न रहेको बताए ।
विस्तृत अनुसन्धान गरी प्रहरीले फौज्दारसहित मोहम्मद सफिक मुसलमान, यादब कुँवर, नन्दलाल चौधरी, मणिराज साई पक्राउ ग¥यो । मुख्य योजनाकार सहनी भएको खुल्यो । तर, उनी भारतमा बसेकाले प्रहरीले पक्राउ गर्न सकेन । लामो प्रयासपछि अन्ततः गत साता रुपन्देही प्रहरीको गोलीबाट उनी मारिएका छन् । जसरी उनले फिल्मी शैलीमा गुरुङको अपहरणपछि हत्या गरे, त्यसैगरी प्रहरीले उनको गोलीले उडाइदियो । स्रोतका अनुसार प्रहरीले चाहेको भए उनलाई बचाउन सक्थ्यो, तर पेशेवर अपराधि भएकाले प्रहरीले उनलाई जोगाउन चाहेन ।
कुनै समय वाइसिएलका कार्यकर्ता थिए साहनी । लुटपाटका लागि वाइसिएलको नाम प्रयोग गरेको भेटिएपछि उनलाई सोही संगठनले कारवाहीस्वरुप पाता कसेर नियन्त्रणमा लिएको थियो । तर, बन्धक बनाएको ठाउँबाट उम्किएर भागेका थिए । पछि उनी जनतान्त्रिक मुक्ति मोर्चा आजाद समुहमा आबद्ध भए । २०७१ साल भदौ २८ गते साहनीको समूहले आकाश गुरुङको अपहरणपछि एक करोड रुपैयाँ फिरौती माग्यो । पछि त्यही समुहले गुरुङको हत्या गर्यो ।
विशेषतः तराईका जिल्लामा पेशेवर रुपमा लुटपाट र अपराधमा संलग्न उनी २०६६ सालमा कपिलवस्तु जिल्ला कारागारबाट सुरुङ्ग खनेर भागेका थिए । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा थिए ।
पछिल्लो समय उनी श्रीमति र दुई सन्तानसहित भारतको बेङ्गलोरमा बस्दै आएका थिए । त्यहीँ बसेर तस्करी र अपराधमा संलग्न हुँदै आएका थिए । उनको इन्कान्उटरबाट रुपन्देही, नवलपरासी क्षेत्रका स्थानीयले शान्तिको महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्