Logo
Logo

किताब लेखक पाठकको रसायनशास्त्र हो : कर्ण शाक्य


441
Shares

काठमाडौं । पर्यटन व्यवसायी कर्ण शाक्यले साहित्यिक विधाका कृति मात्र किताब नभएर यो लेखक र पाठकलाई जोड्ने रसायनशास्त्र भएको बताएका छन् ।

नेपाली राजनीतिज्ञ, कवि तथा नाटककार गोपालप्रसाद रिमालको सम्झना गर्दै न्युयोर्क राइटर्स वर्कसप इन काठमाडौँ र हिमालयन लिटरेचर फेस्टिभलका अवसरमा सोमबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा शाक्यले आफ्ना कृतिहरू ‘सोच’, ‘खोज’, ‘मोज’, र ‘कोष’ यथार्थ भोगाइ र अनुभव भएको स्पष्ट पारे ।

वन विभागको जागिरेदेखि देशविदेशको भ्रमण र होटेल, अर्बुदरोग अस्पतालसम्मको निर्माण गरी दुःखसुखको अनुभव सँगालेका आफूलाई पुस्तक लेख्न अरूको कथा हाल्न नपरेको स्पष्ट गर्दै पत्नी र छोरीको अर्बुदरोगबाट निधन भएपछिको पीडाले पनि पुस्तक लेख्न प्रेरणा पाएको जानकारी दिए ।

वर्कसपमा सहभागी देशविदेशका लेखक तथा नेपाली पत्रकार एवं लेखकसँग अन्तरक्रिया गर्दै लेखक शाक्यले भने, ‘मेरा कृति आख्यान र कल्पना होइन, यथार्थ हो, पाठकले ग्रहण गरे । कृति पढेर कतिले मलाई तपाईँले रुवाइदिनुभयो ।’

उनको ‘सोच’ गैरआख्यानात्मक कृतिले उत्तमशान्ति पुरस्कार पनि प्राप्त गरेको थियो । उनका अङ्ग्रेजी भाषामा पनि ‘टेल्स अफ काठमाडौँ’, ‘डोल्पो’ र ‘लुक डाउन अप’ शीर्षक कृति प्रकाशित छन् ।

‘देशका विभिन्न ठाउँ घुम्दा मलाई मेरो देश स्वर्ग पो रहेछ भन्ने स्पष्ट भयो । म त स्वर्गमा पो जन्मेको रहेछु’ उनले आफूले आफ्नो व्यवसाय गर्दै त्यसैमा धेरै अनुराग राखेको र त्यसलाई कला पनि दिएको जनाउँदै पछि समय व्यवस्थापन गर्न पनि जानेको बताए ।

आफूले अरूको नक्कलभन्दा नयाँ अलग्गै काम गर्न रुचि लाग्ने पनि स्पष्ट गरे । अहिले ८३ वर्षका उमेरमा पनि उनी गाउँ गाउँमा भ्रमण गरिरहेका छन् ।

अहिले सकारात्मक सोचका धनी शाक्यका नाममा ‘कर्ण सकारात्मक कोष’ र ‘नागरिक अभियान आफैँबाट’ भन्ने संस्था स्थापित छ जसले ६० देशमा करिब पाँच लाख जनालाई समेटी करिब पाँच सय समूह खडा गरिसकेको छ । ‘अरूलाई गाली गर्न र नराम्रो भन्न छाडी राम्रालाई राम्रा भन्न सके समाजमा धेरै परिवर्तन हुन्छ’ उनले भने ।

अभियानले सचेत नागरिकको कर्तव्य, विदेश भ्रमण, पारिवारिक परिवेश र छिमेकीका रूपमा नागरिकको भूमिका, सरसफाइसम्बन्धी नागरिक कर्तव्य, धार्मिक–सांस्कृतिक– पर्यटकीय, प्रशासनिक, राजनीतिक, सामाजिक, यातायातर ट्राफिक संरक्षण विकास क्षेत्रमा नागरिकको भूमिकाका लागि सबैमा आग्रह गरेको छ ।

लेखक कार्यशाला तथा साहित्य महोत्सवअन्तर्गत आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, नेपालका लागि बेलायतका राजदूत रोब फेन र गोपालप्रसाद रिमालका माहिला सुपुत्र मदन रिमालका उपस्थितिमा उद्घाटन कार्यक्रम भई नेपाली, अङ्ग्रेजी र नेपाल भाषामा कविगोष्ठी तथा नेपाली मिडियामा नेपाली साहित्यको स्थान, अनुवाद, डायस्पोरा राइटिङ आदि विषयमा छलफल भएको कार्यक्रम संयोजक युयुत्सुआरडी शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्