Logo
Logo

पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन


3.6k
Shares

पर्वत । पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू भएको छ । गर्मीयाम र खडेरीका बेला बजारमा अत्याधिक माग हुने खरबुजा तराईका नदीबगर र बलौटे पाँगो माटो भएका ठाउँमा खेती हुने गरेकामा पहाडी जिल्ला पर्वतमा पनि उत्पादन गरिएको हो । यसअघि परीक्षणका रूपमा उत्पादन सफल भएपछि अहिले व्यावसायिक रुपमा उत्पादन थालिएको हो ।

कुश्मा नगरपालिका–७ मा रहेको पुरी एग्रो फार्मका सञ्चालक नीलराज पुरीले चार रोपनी क्षेत्रफलमा खरबुजा लगाएका छन् । विगत १८ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनले खरबुजाको परीक्षण उत्पादन सफल भएपछि अहिले व्यावसायिक रूपमा अगाडि बढाइएको बताए ।

‘गर्मी क्षेत्रमा उत्पादन हुने यो फल पहाडी जिल्ला र चिसो हावापानी भएका क्षेत्रमा पनि उत्पादन गर्न सकिँदो रहेछ’, सञ्चालक पुरीले भने, ‘तीन वर्षको परीक्षण खेतीपछि अहिले व्यावसायिकरूपमा खरबुजा खेती गरिरहेको छु । गत फागुनमा लगाएको खरबुजा अहिले बिक्री वितरणका लागि तयार भएको छ ।’

तरकारी खेतीसँगै खरबुजा खेतीसमेत गरिरहेका उनले सुरुमा तीन किलोग्रामसम्म उत्पादन भएकामा अहिले सात किलोसम्म फल लागको बताए ।

‘बगरमा खेती हुन्छ भन्ने सुनेको थिए तर तरकारी खेती र माटोमा नयाँ अनुसन्धान गर्ने क्रममा खरबुजा खेती गरेको थिए । बलौटे माटो, पानी कम भएको क्षेत्रमा पनि खरबुजा उत्पादन सफल भएको छ’, उनले भने, ‘अहिले थोरै जग्गामा लगाएको थिएँ, उत्पादन र माग राम्रो भएकाले आगामी वर्षमा खेती विस्तार गर्ने तयारीमा छु ।’

कुश्मा नगरपालिका–७ का वडासदस्यसमेत रहनुभएका पुरीले जनताको सेवासँगै कृषि उत्पादन गरेर प्रशस्त आम्दानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्