Logo
Logo

तराईमा तातो हावाको चेतावनी


189
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्ष सातौंपटक तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको छ ।
महाशाखाले यसअघि पनि जेठ १९ र २० गते दुईदिन तातो हावाको लहर चल्ने चेतावनी जारी गरेको थियो ।

विगतका दिनमा जस्तै आज शनिबार र भोलि आइतबार पनि सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्लामा तातो हावाबाट प्रभावित हुने अनुमान गरिएको छ ।

पछिल्ला दिनमा नेपालमा गर्मी अत्यधिक बढेको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा एक साता भन्दा बढी समयदेखि लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । एकसाता भन्दा बढी समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

शुक्रबार धनगढीको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस मापन भएको थियो भने नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस थियो । यी स्थानहरूमा न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस हाराहारीमा रहने हुँदा अझै गर्मी महशुस हुनेछ ।

बिहीबारको तुलनामा नेपालगन्ज र धनगढीको अधितकत तापक्रम केही घटेको मौसमविद गोविन्द झा बताउँछन् । बिहीबार ती ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो ।

काठमाडौं उपत्यकामा पनि गर्मी बढ्दो छ । काठमाडौंको अधिकतम तापक्रम पनि आज ३२ देखि ३४ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान छ। बिहीबारको तुलनामा शुक्रबार भने तापक्रम केही घटेको थियो। आज बिहानदेखि बदलीको अवस्था रहेकाले गर्मी केही कम महशुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्