Logo
Logo

बजेटले आर्थिक मन्दीलाई सम्बोधन गर्न सकेन : धवल शमशेर जबरा


126
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद धवल शमशेर जबराले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको राजस्व र व्ययको अनुमान (बजेट)ले मुलुकमा विद्यमान आर्थिक शिथिलतालाई चिर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे धारणा राख्दै सांसद जबराले कुनै स्पष्ट योजना नभई वितरणमुखी र कनिका छरेको जस्तो बजेट ल्याएको बताए । ‘देशमा चलिरहेको आर्थिक मन्दीलाई बजेटले सम्बोधन गर्न सकेको छैन । आर्थिक मन्दी रहेको स्थितिमा त्यसलाई समाधान गर्न बजेटले कुनै स्पष्ट योजना ल्याएको देखिँदैन’, उनले भने, ‘कृषि क्षेत्रमा कृषि दशक भनिएको छ, तर कृषि क्षेत्रमा न्यून बजेट आएको छ ।’ रासायनिक मलको अनुदानको रकम घटाउँदा त्यसको मार कृषकलाई पर्ने उनको भनाइ छ ।

सांसद जबराले सरकारले आगामी आर्थिक वर्षका लागि राखेको लक्षित राजस्व सङ्कलन गर्ने र स्रोत जुटाउन ठूलो चुनौती रहेको बताए । चालु आवको बजेटको आकार रु दुई खर्बभन्दा बढी घटाउनु परेको स्मरण गर्दै उनले आकारमा ठूलो बजेट ल्याउनेभन्दा पनि कार्यान्वयनमा सरकारले बढी जोड दिनुपर्ने उल्लेख गर्नुभयो । बजेटले स्टार्टअप क्षेत्रमा राम्रा योजना ल्याएको उहाँको भनाइ छ । यद्यपि केही योजना तथा कार्यक्रम विवरणमुखी रहेको सांसद जबराले आरोप छ ।

‘पुराना आयोजना अलपत्र छन् । थप नयाँ आयोजनामा बजेट राखेर कसरी पार लाग्ला ?’, सांसद जबराले प्रश्न गरे । विद्युतीय गाडीको प्रयोग बढेको र यसले पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जाने सरकारको नीतिकै प्रतिकूल हुनेगरी पेट्रोलियम पदार्थमा कर बढाइएको उनले उल्लेख गरे । भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढाइए पनि राष्ट्रिय गौरवका आयोजनामा न्यून बजेट विनियोजन भएको सांसद जबराको भनाइ छ । सिक्टा सिँचाइ आयोजनाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनले गुनासो गरे ।

आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै जाने विषय सरकारले बजेटमा राखेको भए पनि त्यसका लागि कानुनी, संरचनागत र प्रक्रियागत सुधार हुन नसकेको सांसद जबराले बताए । सूचना प्रविधिका क्षेत्रमा लगानीको दशक घोषणा गरिनु बजेटको सकारात्मक पक्ष रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्