Logo
Logo

राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गरिनुपर्छ : धनराज


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने बताएका हुन् ।

सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे ।

‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ’, गुरुङ्ले भने ।

देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ । हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए ।

सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । ‘घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्याङ्कन गर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्