काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । सोमबार मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानका लागि उनलाई अहिले बौद्ध प्रहरी वृत्तमा लगिएको छ । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद-२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।
थापा ‘प्रसाद-२’ का निर्देशक हुन् । चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर बस्नेतले उनीहरूसहित ओएसआर डिजिटल प्रालिका सञ्चालक ओमप्रकाश अग्रवालविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले अग्रवाललाई पक्राउ गरिसकेको छ ।














