Logo
Logo

उच्छृंखल गतिविधि बन्द गर्न बालेनलाई योगेशको चेतावनी


945
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई उत्तेजना फैलाउने तथा उच्छृंखल गतिविधि गर्ने काम बन्द गर्न चेतावनी दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचिवसमेत रहेका सांसद भट्टराईले महानगर प्रमुखले संयमता गुमाउँदै गएको भन्दै उच्छृंखल गतिविधि बन्द गर्न चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाईंमार्फत लाखौँ युवाहरूले भविष्य खोजेको हो । पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ युवाहरूको सपना लतार्दै हुनुहुन्छ ।’ मेयर बालेनले केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल, अशोक राई, उपेन्द्र यादवलगायत नेताहरु जेल बसेको कुरा मजाकमा उडाएको विषयमा पनि उनले ठाडो आपत्ति जनाए ।

‘उनीहरूले लडेर ल्याएको व्यवस्थामा काठमाडौं महानगरपालिका प्रमुख तपाईं हुनुभएको छ । अनि त्यी नेताहरू जेल बसाइलाई मजाकमा उडाउने ?,’ उनले भने, ‘त्यो मानिस मात्र देशभक्त हुन्छ जसले आफ्नो संस्कृति र इतिहासमाथि गर्व गर्छ । कसैले भर्त्सना गर्छ भने त्यो नागरिक कसरी देश भक्त हुन्छ ?’

ओली जेल बसेको कुरा उडाएको भन्दै उनले भने, ‘यदि यस ढंगले भण्डाफोर गर्ने भए आफ्नै आमाको अस्तित्वमाथि चिथोर्दै हुनुहुन्छ । यी नेतालाई बदनाम गर्नु आफ्नै आमाको अस्मिता नग्याउनु हो ।’

मेयर बालेनले सोमबार सामाजिक सञ्जालमार्फत केपी ओली पहिले पनि जेल बसेको र फेरी पनि जेल बस्नुपर्ने दिन आउनसक्ने भन्दै कटाक्ष गरेका थिए । उनले बालेनलाई आफ्नै आमाको अस्मिता नङ्ग्याउँदै हुनुहुन्छ भने यो समाजलाई कतातर्फ लादै हुनुहुन्छ भन्ने प्रश्न उनले गरे ।

कानुनी सिमा र अधिकारभित्र बस्न भन्दै उनले भने, ‘यो देशको व्यवस्था ल्याउन लडेका एमाले नेताहरूलाई गाली गर्नु भनेको आफैँ आकाशतिर फर्केर थुकेपछि कहाँ झर्छ भन्ने बालेनजीलाई थाहा हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्