Logo
Logo

बालेनसँग किन त्रसिए ओली ?


3.3k
Shares


काठमाडौं । पछिल्लो समय नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच जुहारी चल्दै आएको छ । ओलीले बालेनको कार्यशैलीप्रति आपत्ति जनाउँदै आएका छन् ।

काठमाडौँ महानगरको मेयर निर्वाचित भएपछि बालेन एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसबेला आफूलाई भेट्न आएका बालेनलाई ओलीले तबला उपहार दिएका थिए । त्यसबेला बालेन एमालेमा प्रवेश गर्ने चर्चा समेत चल्यो । तर, अहिले एमालेको सिंगो सङ्गठन नै बालेनविरुद्ध लागेको छ ।

अहिले एक अर्काप्रति लक्षित कटाक्ष, आक्रोश, आरोपप्रतिआरोमा उत्रिँदै आएका छन् । एमाले अध्यक्ष ओली बालेनमाथि बारम्बार टिप्णी गर्दै आएका छन् । उनी बालेनमाथि यसरी किन खनिरहेका छन् ?

संसद्को दोस्रो ठूलो पार्टीका अध्यक्षलाई एउटा स्थानीय तहको प्रमुखदेखि त्यस्तो थ्रेट के भयो ? देशैभर बलियो सङ्गठन भएको पार्टी एकजना व्यक्तिदेखि किन यति धेरै त्रसित बन्यो ? एमाले अध्यक्ष ओली र बालेनबीच किन बारम्बार चलिरहन्छ जुहारी ? पूरै पार्टी सङ्गठन नै एउटा व्यक्तिविरुद्ध लाग्नुपर्ने गरी बोलेन त्यस्तो के काम गरे ? बालेनको प्रतिवादमा ओली आफैँ किन अघि सरे ?

बालेनको उक्त कदमपछि एमाले पार्टी कार्यालयमा भएको एक बैठकमा ओलीले भनेका थिए, ‘असन्तुष्टि, आक्रोश, प्रतिक्रिया भनेको मलाई छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने ? यो कुनै सभ्यता हो ? अनि आज योङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन ? उनीहरुको एउटा मण्डली हुन्छ, त्यसले वा जन्मिएछ एउटा बहादुर क्याबात् लेख्छ । अनि अरू चुप लागेर बस्छन् झोक्राएर । यो त सभ्य तरिका भएन भनेर सत्य कुरा भन्न सकिँदैन ! यो एउटा महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन । त्यति पनि भन्न सकिँदैन ?’

प्रचण्ड देउवासँग जंगिए ओली
सोमबार संसद्भवनबाट बाहिरिएपछि ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित थिए । शीर्ष तीन नेताबीच भएको छलफलमा ओली जंगिएका थिए, ‘अराजकतालाई मौन बसेर कतिन्जेल ढाक्न सकिन्छ !’

नेताहरूका अनुसार ओली नै गम्भीर रुपमा विषय राखेपछि मेयर बालेनले सामाजिक सञ्जालमा लेखेको विषयमा तीन नेताबीच छलफल भएको थियो । ओलीले गम्भीरतापूर्वक विषय उठाए तापनि प्रचण्ड र देउवाले हल्का रूपमा लिनुपर्ने बताएका थिए ।

ओलीले भनेका थिए– ‘बालेनलाई किन महत्त्व दिइरहने? उनलाई मिडियाले नेता बनाएका हुन् तर उनीहरू नै मिडियालाई गाली गर्छन्। मिडियाले भगवान् बनाएकाहरूको आलोचना हुँदा समर्थकहरू भड्किन्छन् । उल्टै मिडियाविरुद्ध खनिन्छन् ।’

कांग्रेस सभापति देउवाले नयाँ दल र स्वतन्त्रका नाममा भएको गतिविधिलाई सोही रूपमा लिनुपर्ने बताएका थिए । त्यसपछि देउवा र प्रचण्डसँग आफ्नो विषयलाई कम महत्त्व दिएको भन्दै ओली जंगिएका हुन् । उनले अराजकता नियन्त्रण गर्न दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख े।

यसअघि बालेनले सिंहदरबारमा आगो लगाउँछु भनेपछि बालेनमाथि कारबाही गर्न सकिने उपायबारे शीर्ष नेताहरूले छलफल गरेका थिए । बालेनलाई चलाउँदा झन् नकारात्मक सन्देश जाने भएपछि प्रधानमन्त्री प्रचण्ड हच्किएका थिए ।

बालेनले के भनेका थिए ?
बालेनले ओलीलाई जेलको बसाई सम्झाउँदै सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखेका थिए । उनले ‘जेल जानुपर्ने दिन आउन सक्ने’ सम्मको चेतावनी दिए ।

मेयर बालेनले ओलीले आफ्ना कर्तुत लुकाउन लागिपरेको बताए । उनले लेखे, ‘१० हजार करोड काण्ड’ लुकाउन र जनतालाई भुलाउन जनतामा भ्रम नछर्नुहोस् । ओलीज्यू, झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईँको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईँलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’

‘आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो,’ बालेनले अगाडि भनेका छन् ।

विवादको चुरो कुरो

ओली–बालेनबीच अनेक विषयमा आरोपप्रतिआरोप भए पनि मुख्य विषय न्युरोड सडकको विवाद हो । फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले न्युरोडमा सडक भत्काएको हो ।

तर, सोही सडक डिभिजन सडक कार्यालय काठमाडौंले कालोपत्रे गर्न थालेको छ । अहिले सडक डिभिजन र महानगरबीच तनावको वातावरणसमेत सृजना भएको छ । बालेनले फुटपाथ बढाउन खोज्दा भौतिक पूर्वाधारमन्त्री महासेठ र ओलीले त्यसको विरोध गरेका हुन् । त्यस विषयले बालेन ओलीप्रति थप आक्रोशित बनेका हुन् ।

काठमाडौँ २२ का वडाध्यक्ष चिनिकाजी महर्जनले न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र आफ्नो वडाबाट केही फाइल लगेको विषयलाई लिएर मेयरको कार्यशैलीमाथि प्रश्न उठाए । मेयर र वडाध्यक्षबीच केहीबेर नोकझोंक समेत भयो ।

वडाध्यक्ष बाहेक एमालेको अरु जनप्रतिनिधिले मेयर बालेनकोविरुद्ध मुख खोलेनन् । काठमाडौँ महानगरमा एमालेबाट उपमेयर सुनिता डंगोल छिन् भने १२ जना वडाध्यक्ष छन् । महानगरभित्र एमालेबाट निर्वाचित १३ जनप्रतिनिधि मौन बसेपछि ओली आफैँ अघि सरे ।

ओली र बालेनबीचनको जुहारी फोहोरबाट गिरीबन्धु टी–स्टेटसम्म पुग्यो । महानगरले फुटपाथ बनाउन खनेको ठाउँलाई टाल्दै गरेका सडक डिभिजन काठमाडौँका कर्मचारी र सो गर्नबाट रोक्न तल्लीन नगर प्रहरीबिच न्युरोडमा घम्साघम्सी चलिरहेको बेला मेयर बालेनले उक्त टिप्पणीले सामाजिक सञ्जाल तातियो ।

गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सम्बन्धमा केपी ओली नेतृवको सरकारले गरेको निर्णय २०८१ वैशाख ३० गते सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चको उक्त फैसलाको पटक पटक तारिफ गरिरहेका मेयर शाह र सो जग्गामा मुछिएका ओलीबीचको तिक्तता सोमबार पुनः न्यूरोडमा छताछुल्ल भयो । बालेनको उक्त आरोपबारे संसद् भवनबाहिर पत्रकारसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै ओलीले आरोपबारे बालेनलाई नै सोध्नु भने ।

सतहमा दुई नेता बीचको विवाद गिरीबन्धु देखिए पनि भित्री चुरो भने महानगरमा बालेनको योजना रोक्ने महानगरका एमाले नीति र त्यसलाई केन्द्रीय सत्ताबाट साथ दिने एमाले प्रवृत्तिसँग सम्बन्धित छ ।

काठमाडौँ महानगरले न्युरोडमा क्षेत्रको पैदला यात्रा सहज बनाउन भन्दै महानगरको सडकको दुवैतर्फ फुटपाथ बढाउन १२ जेठ देखि काम सुरु गरेको थियो ।

सङ्घीय सरकारको मातहत उक्त सडक महानगरले अनुमति बिना भत्काएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले महानगरलाई कारबाही गर्ने चेतावनी दियो । त्यसपछि महानगरले चक्रपथ विस्तारको कार्यमा सहजीककरण नगरे भन्दै सडक विभाग अगाडि एक ट्रकले धुलो खन्याइदियो ।

सोही साँझ सडक विभागले विज्ञप्तिमार्फत महानगरको प्रतिकारमा उत्रिने चेतावनी दियो । त्यही विवाद तन्किँदै जाँदा गिरीबन्धुसम्म पुगेको हो । संयोग नै मान्नु पर्छ महानगरसभामा बालेनसँग भनाभन भएका वडाध्यक्ष र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ दुबै नेकपा एमाले कै हुन् ।

यसअघि बहु विवादित पार्किङ क्षेत्र हटाएर सोही क्षेत्रमा फुटपाथ बनाउने तयारीमा भएको आफूमाथि गरिएको अवरोधलाई बालेनले पुनः पार्किङ क्षेत्र चलाउनलाई वातावरण तयार गरेको रुपमा चित्रित गर्ने गरेका छन् । सोही प्रकरणमा ओली पनि बोल्न मिसिएपछि उनले ओलीलाई गिरीबन्धुमा मिलिभगत गरेको भनी आरोपमै उत्रिए ।

सामाजिक सञ्जालमा रमाइलो
सोमबार दिनभरीको तनावका बीच राती ९ बजे एमाले अध्यक्ष ओलीले फेसबुकमा श्रीमती राधिका शाक्यसहितको गोसाईंकुण्डको फोटो राख्दै स्ट्याटस लेखे– ‘फेसबुक नहेरेको पनि झन्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाईंकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाईंकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभ रात्रि ।’
ओलीको स्ट्याटसको कमेन्टमा मेयर बालेनले तुरुन्तै जवाफ फर्काए ‘अ हो ! गुड नाइट केपी बा, ह्याब अ स्वीट ड्रीम’ ओलीको पोस्ट र बालेनको कमेन्टमा अहिले क्रियाप्रतिक्रिया उत्पन्न भइरहेका छन् । रमाइलो त के छ भने ओलीको पोस्टमा भन्दा बालेनको कमेन्टमा बढी लाइक आइरहेको छ ।

सदनमा आक्रोश
मंगलबारको प्रतिनिधि सभाको बैठकमा एमाले काठमाडौँ महानगरप्रमुख बालेन शाहमाथि खनियो । एमाले अध्यक्ष केपी ओलीलाई गिरिबन्धु प्रकरणमा बालेनले पोस्ट गरेपछि आज सदनमा एमालेले बालेनलाई भ्रम नफैलाउन चेतावनीसमेत दिएको छ ।

एमाले सांसद योगेश भट्टराईले सभामुखबाट बोल्नका लागि १७ मिनेट समय पाएका थिए । तर, उक्त समय उनले बालेनमाथि आक्रोश पोखेर खर्चिए । जुन नेताहरू जेल बसेर, लडेर लोकतन्त्र ल्याए तिनै नेताहरुविरुद्ध मजाक गर्नु ‘आफ्नै आमाको अस्तित्वमाथि, अस्मितामाथि बारम्बार तपाई नङ्ग्याउने काम गरेको आरोप लगाए ।

सांसद भट्टराईले राजनीतिक इतिहास, संस्कृतिप्रति घृणा फैलाएको भन्दै बालेको देशभक्तिमाथि नै प्रश्न चिन्ह खडा गरे । उनले साइबर ग्याङबाट राजनीतिमा सधैँ नटिकिने टिप्पणी समेत गरे ।

उनले भनेका थिए– ‘म भन्न चाहन्छु बालनजीलाई पैसा कति चाहियो ? सरकारले दिन्छ कति चाहियो ? हामी दिन्छौँ । सरकारले दिन तयार छ, हामी अर्थमन्त्रीलाई भनौँला, प्रधानमन्त्रीलाई भनौँला । काठमाडौँलाई अझै सुन्दर बनाउन तपाईँका योजना के छन् ? आउनुस् हामी सँगसँगै काम गरौला । तर उत्तेजना फैलाएर, उच्छृङ्खल गतिविधि गरेर तपाई मार्फत लाखौँ युवाहरूले यो देशको भविष्य खोजेका हुन् । लाखौं युवाहरूले आफ्नो भविष्य, सपना तपाई मार्फत खोजेका हुन् । तर पछिल्ला दिनमा तपाई जसरी जाँदै हुनुहुन्छ, ती युवाहरूको सपनामाथि धोका दिँदै हुनुहुन्छ, मुलुकलाई धोका दिँदै हुनुहुन्छ । यस ढङ्गले अगाडि नबढ्न पनि म भन्न चाहन्छु ।’

उनल थपे– ‘नेताहरू जेल बसेको कुरालाई तपाईले मजाक बनाउनुभयो, तिनै नेताहरू जेल बसेर, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड चाहे अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जो आज यो संसदको अग्र भागमा हुनुहुन्छ, उहाँहरु नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ । त्यसवापत तपाई आज काठमाडौँ महानगरको मेयर हुनुभएको छ । अनि ती नेताहरुको जेल बसाईलाई तपाईले आज मजाक उढाउँने ?’

प्रतिक्रिया दिनुहोस्