Logo
Logo

चालु आर्थिक वर्षमा साढे ४ प्रतिशतले बढ्यो महँगी


315
Shares

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा साढे ४ प्रतिशतले महँगी बढेको छ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को  तथ्याङ्क अनुसार मुद्रास्फीति ४.४० प्रतिशत रहेको छ । 

गत आर्थिक वर्षको तुलनामा भने मुद्रास्फीतिमा ३.०१ प्रतिशतले कमी आएको हो । गत वर्षको सोही अवधिमा मुद्रास्फीति ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९६ प्रतिशत छ ।

गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २३.११ प्रतिशत, दाल तथा गेडागुडी १०.८५, मरमसला ८.९८, खाद्य तथा खाद्यजन्य पदार्थ ७.४२ र चिनी तथा चिनीजन्य वस्तुको ७.२५ प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ७.१३ प्रतिशतले घटेको राष्ट्र बैंककाे तथ्याङ्कमा छ ।

त्यसैगरी समीक्षा महिनामा गैर खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.२६ प्रतिशत, शिक्षा ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ ।

सञ्चार उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशतले घटेको छ । वैशाखमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३० प्रतिशत, तराई ४.३२, पहाड ४.७० र हिमालको ४.२२ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिना ती क्षेत्रको मुद्रास्फीति क्रमशः ७.६८, ७.१५, ७.५७ र ७.१२ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्