सिद्धार्थनगर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय महिला आयोगलाई थप सक्रियतापूर्वक काम गर्न आग्रह गरेका छन् ।
आयोगले आज लुम्बिनी प्रदेशसभाका नीतिगत विषयमा प्रदेशसभाका संसदीय समितिका सभापति र महिला सांसदसँग अन्तक्र्रियामा मुख्यमन्त्री महराले महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने गरी सबैले काम गर्नुपर्ने धारणा राखे ।

उनले यस्ता छलफल तथा अन्तक्र्रियाले नीति, नियम निर्माणमा सहयोग पुग्ने भएकाले आयोगले प्रदेशसँगै सङ्घीय सरकारलाई पनि यसतर्फ ध्यानाकर्षणका लागि पहलकदमी लिनुपर्ने सुझाव दिए । “नेपालमा विभिन्न आन्दोलन तथा जनयुद्धले सबै क्षेत्रमा जागरुकता ल्याएको छ । अब महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन आयोगले थप भूमिका खुल्नपर्ने आवश्यकता छ”, उनले भने ।
यस्तै महिलाको सम्पत्तिमा पनि समान अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री महराले यसमा सकारात्मक भूमिका खेल्न सबैले सहयोग गर्न जरुरी रहेको उल्लेख गरे । उनले भने, “पछिल्लो समय नेपालमा महिलाहरू राजनीति र विचारमा अगाडि आएका छन् । अब आर्थिक, सामाजिक रुपमा थप शसक्त बनाउन आयआर्जन र सम्पत्तिमा पनि पहुँच बढाउन लाग्नुपर्छ । प्रदेश सरकारले पनि आएका सुझावलाई समेटेर नीति–नियम निर्माणमा जोड दिनेछ ।”
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले समाजमा देखिएका विभिन्न विभेदको अन्त्यका लागि आयोगले अभियान चलाउनुपर्ने सुझाव दिए । उनले आयोगले सातै प्रदेशसभासँग सहकार्य गरेर ऐन, कानुन र नीतिनियम निर्माण गर्दा उपलब्धीमूलक हुने धारणा राखे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती अधिकारीले नीति निर्माण तहमा महिला नेतृत्वले भोगेका समस्या पहिचान गरी आयोगले समाधानका लागि सहजीकरण गर्नुपर्ने धारणा राखे ।
लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले संविधानले गरेका व्यवस्था लागू गर्न सबै निकायले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।
राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आयोगले सबै प्रदेशका प्रदेश महिला सांसदसँग प्रत्यक्षरुपमा छलफल गर्दै आएको बताए । यसले नीतिगतरुपमा काम गर्न सहज भएको उनको भनाइ छ । खतिवडाले समाजमा अहिले पनि महिला पुरुषबीच विभेद कायमै रहेको भन्दै त्यसको न्यूनीकरणका लागि आयोगले जनप्रतिनिधिसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिए ।