काठमाडौँ । विवेकसील साझा पार्टिका महासचिव रन्जु दर्शनाले रास्वपा महामन्त्री मुकुल ढकाललाई दुर्घटनामा नपर्न सुझाब दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दर्शनाले दलको नीति अधिवेशन, महाधिवेसन गर्नेसमय ढल्कि सकेको र दुर्घटनामा नपर्न सुझाब दिएका हुन् ।

“मुकुल जी, दलको नीति अधिवेशन, महाधिवेसन गर्नेसमय ढल्कि सक्यो! तपाईहरू दुर्घटनामा नपर्नुहोस् । हाम्रो ईतिहास, लडाईं, भोगाई, थकाई र सिकाईले हामी हिॅंडिरहनेछौं र हाम्रो भोगाईबाट तपाईहरूले सिक्नुपर्ने थियो । सत्ताको रस पसेर होकि, निकै कम समयमा सांसदभवनभित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस्”, उनले लेखेका छन्
उनले रास्वपा महामन्त्री ढकालले ३८ जिल्ला पुगेर बनाएको प्रतिवेदनलाई उद्धृत गर्दै यस्तो सुझाव दिएका हुन् । उनले लेखेका छन्, ” भागवत गीतामा भनिएको छः ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार हुन्छ, त्यसको फलमा हुँदैन । मलाई बेला–बेला विवेकशील साझाको यात्रामा यही कुरा झझल्को आउँछ । मुकुलजी (रास्वपाका महामन्त्री) ले पार्टी दुर्घटना उन्मुख छ, बेलैमा सचेत हुनुपर्छ भनेर ३८ जिल्ला पुगेर समीक्षा प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनु भएको कुरा समाचारबाट सुनेँ । विवेकजीको जस्तै अवस्था आउला भन्नुभएको पनि सुनेँ । र, आफ्नो केहि कुरा यहाँ राख्न मन लाग्यो ।
रास्वपाको सुरुवात भइराख्दा उज्ज्वल थापा दाइ, विवेकशीलका संस्थापक नेताको देहान्त भएको भर्खर एक वर्ष भएको थियो । दाइको देहान्तपछि जसरी लाखौं मानिसले आफ्नो सान्त्वना प्रदान गरे, धेरैले उज्ज्वल दाइको नाम लिन थाल्नु स्वाभाविक नै थियो ।
रास्वपाले पनि पटक–पटक भन्यो सो पार्टीको राजनीतिक धरातलको जग स्व.उज्ज्वल थापाले नै राखिदिएका हुन् । गणतन्त्र स्थापनापछि खुलेको विवेकशील नेपाली दल पछि विवेकशील साझा पार्टी बन्यो, जसले नेपाली समाजमा अनौठो तरिकाको भद्र राजनीतिको सुरुवात गर्यो, युवाहरूलाई राजनीतिमा आकर्षित गर्न फेरि सुरु गर्यो ।
निर्वाचनको अङ्कमा गणितमा प्राय तलै पर्यो तर देशको सामाजिक विषयमा माथि पर्दैथ्यो। विडम्बना टुटफुटको कठिन यात्रा, दलभित्र एकीकृत हुन नसक्नु, सङ्गठन विस्तार तीव्र रूपमा नबढ्नु, दलकै अध्यक्षको राजनीतिक एजेन्डा परिवर्तनका हक कुदै दललाई खेत जसरी जोतिए पछि आजको दिनसम्म आइपुगेका छौँ ।
विवेकशील साझा पार्टी अहिले बेला बेला मात्र देखिन्छ, सदस्यहरू पनि छैनन्, खासै केहि साख छैन, हामी यस्तो अवस्थामा चाहिँ पुग्न हुँदैन भन्नु भएको सुनिन्छ । ठिकै हो ! हामीलाई पनि यस्तो अवस्थामा पुग्न मन थिएन, अहिले हेर्दा पनि अवस्था मन पर्दैन तर “छिटै खाउँकी जली मरौँ” गरेर हामीले आफ्नो मूल्यमान्यता, राजनीतिक अडान अस्पष्ट राखेका छैनौँ । हामीले विवेकशील–साझा पार्टीलाई तत्कालीन अध्यक्षको लहलहैमा राप्रपा बन्न दिएनौ, त्यसमा स्पष्ट भयाै ।
टुटफुटले मन दुखेका साथीहरू अहिले पनि हामीलाई गाली गरिरहनुहुन्छ, फेसबुकका कमेन्टमा रिस पोखिरहनुहुन्छ; लाग्छ कि उहाँहरू कुनै अमुक दलका अन्धभक्त हुनुहुन्छ तर होइन; हाम्रै पुराना रुष्ट साथीहरू हुनुहुन्छ । यसरी हेर्दा, अहिले पार्टीमा दुःख कष्ट व्यापक छ तर पनि राजनीतिक अडान छ ।
यस्ता दुखका कुराहरूबिच पनि मलाई अचम्म चाहिँ के विषयमा लागि रहेको छ भने यहाँहरू ‘माथि’ भएको आभास र ‘तल पुग्न लागेको’ आभास पनि “विवेकशील साझा” को नाम लिएरै गर्नुहुन्छ तर हामीहरूको कठिन यात्राबाट भने सिक्नुहुन्न । बरु, विवेकशील पृष्ठभूमि भएकाहरूलाई सकभर ठाउँमा राखौँ भन्ने पनि सुनेको हो (यो सुनेको कुरा चाहिँ गलतै साबित होस्।)
एक जनाको वरपर फनफनी घुम्न मिल्ने भनेको फुलको वरपर भमरा हो एक व्यक्तिको वरपर एउटा सिङ्गो दल होइन । त्यसैले, मुकुलजी, दलको नीति अधिवेशन, महाधिवेशन गर्ने समय ढल्की सक्यो ! तपाईंहरू दुर्घटनामा नपर्नुहोस् । हाम्रो इतिहास, लडाइँ, भोगाई, थकाई र सिकाइले हामी हिँडिरहनेछौ र हाम्रो भोगाइबाट तपाईंहरूले सिक्नुपर्ने थियो, सत्ताको रस पसेर हो कि, निकै कम समयमा संसद् भवनभित्र बसेर हो, सायद सिक्नुपर्ने कुरा सिक्न समय मिलेन । अब सिक्नुहोस् । र, गीतामै भनेजस्तो तलको वाक्यांश पनि हामीहरू सबैले नबिर्सौं ।
‘मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’ अर्थात् कर्मको प्रतिफल कस्तो हुन्छ भनेर आशावादी हुनुहुँदैन, तर अकर्मण्यताप्रति पनि आशक्ति हुनुहुँदैन । तपाईंहरुलाई शुभ भाव ।।”














