Logo
Logo

रवि लामिछानेको बचाउमा लाग्ने प्रहरीमाथि सन्त्रास


13.6k
Shares

काठमाडौं । सहकारीको ७ अर्ब भन्दा बढी बचतकर्ताको निक्षेप अपचलन गरेका गितेन्द्रबाबु राईको ठगी साम्राज्यमा जोडिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा नेपाल प्रहरीका केही उच्च अधिकृतले देखाएको सक्रियताले उनीहरु निकै अप्ठेरोमा परेका छन् । गृहमन्त्री नेपाली कांग्रेसले लिने भएपछि रविको बचाउमा खुलेर लागेका प्रहरी अधिकृतहरुमा सन्त्रास छाएको छ ।

चितवनको सहारा, पोखराको सूर्यदर्शनदेखि बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टीभीमा ६१ करोड लिएको सहकारी ठगीको छानबिन गर्न गठित समितिमा आईजीपी बसन्तबहादुर कुँवरले नै तथ्यांक दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवाली गृहमन्त्री लामिछाने त रविको पक्षमा खुलेरै देखिए । आगामी भदौ २६ गते अवकाश हुन लागेका ज्ञवालीले सुनकाण्डमा माओवादी नेताहरुलाई बचाएको र गृहमन्त्री लामिछाने जोडिएका सहकारीको ठगीमा उनको संलग्नताको बिषयमा ढाकछोप गर्न खोजेको आरोप छ । ज्ञवालीले लामिछानेलाई सहकारी ठगीमा जोगाउने काम गरेबापत प्रहरीमा कायम रहेको ३० बर्ष सेवावधि हटाउने र आईजीपी नै हुने खेलमा थिए ।

सीआईबी आईजीपी कुँवर अन्तर्गत हो । तर सीआईबीका कतिपय काम कारबाहीका बारेमा उनले आइजीलाई समेत थाहा नदिएको चर्चा हुने गरेको छ । पोखराको सूर्यदर्शनदेखि बुटवलको सुप्रिम सहकारीबाट ठगिएकाहरुको उजुरी दर्ता नगर्न दबाब दिने काम प्रहरी प्रधान कार्यालयमा बसेर डीआईजी दानबहादुर कार्कीले गर्दैआएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी बिजराज पण्डितलाई डीआईजी कार्कीले दबाब दिएर सुप्रिम सहकारीका पीडितले रवि लामिछाने र दिपेश पुनका बिरुद्ध दिएको उजुरी नै दर्ता हुन दिएका थिएनन् ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितले उजुरी दर्ता गराउन जाँदा कार्कीले नै रोक्न लगाएका थिए । कास्कीका एसपी मोहनकुमार थापाले पनि रवि बिरुद्धको उजुरी नलिएर उनको सेवा गर्न कुनै कसर बाँकी राखेनन् ।

त्यसो त आईजीपी कुँवरलाई राज्यब्यवस्था समितिमा रविका बिरुद्ध देशका कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरेको बयान दिन लगाउने पनि कार्की नै भएको प्रहरी हेडक्वाटरमा चर्चा छ । चेन अफ कमाण्ड नै बिर्सेर डीआईजी कार्की गृहमन्त्री लामिछानेको पक्षमा मुखर भएर लाग्नेमा पर्दछन् । जागिरका दौरान सधैं आकर्षक कार्यालयमा बसेका कार्की शक्तिकेन्द्रसँग निकट रहने र फाइदा उठाउने प्रहरी अधिकृतमा अग्रपंक्तिमा पर्दछन् । जुनियर भए पनि रविलाई बचाउन सबै किसिमका हत्कण्डा प्रयोग गरेर उनी डिआइजीमा बढुवा हुन सफल भएका छन् ।

नुवाकोटका कांग्रेस नेता अर्जुननरसिंह केसीको परिवारसँग निकट सम्बन्ध भएका अर्का डीआईजी मनोजकुमार केसी पनि लामिछानेको अति नै विश्वासपात्र हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका अति निकट बालकृष्ण खाँणलाई एउटा उजुरी नपरे पनि भूटानी शरणार्थी प्रकरणमा पक्राउ गरी उनको राजनीतिक जीवन नै समाप्त पार्ने काम गरे । खाँणपछि आरजु राणाको पनि भूटानी शरणार्थी प्रकरणमा संलग्नता छ भनेर मिडियाबाजी गराउने र पक्राउ गर्न सकिने हल्ला पनि डिआइजी मनोज केसीले नै चलाएको निष्कर्ष बुढानीलकण्ठले निकालेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री हुन लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीका पीए राजेश बज्राचार्यको नाम समेत एआईजी ज्ञवालीदेखि दानबहादुर कार्की र मनोज केसीहरुले मिडियामा दिएकोबारेमा बालकोट पनि अनभिज्ञ छैन ।

डीआईजी केसी पनि सधैं तर मार्नेमै पर्दछन् । उनी मोरङमा हुँदा होस् कि रुपन्देहीमा नै किन नहोस्, कमाइधमाइमा कोही भन्दा कम थिएनन् ।

गृहमन्त्री रवि लामिछानेको बचाउमा मर्यादा नै बिर्सेर लाग्ने यी उच्च अधिकृतका अलावा नेपाल प्रहरीका एसपीद्वय मोहनकुमार थापा (कास्की) र उपत्यका अपराध अनुसन्धान कार्यालयका अंगुर जीसी पनि हुन् । अंगुर जीसी पनि लामिछानेका भित्रिया नै मानिन्थे ।

उनलाई लामिछानेले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुखमा सरुवा गराउन खोजेका थिए । तर आईजीपी कुँवरले ठाडै इन्कार गरेकाले उनको त्यो योजना पूरा हुन नसकेपछि उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए । जीसी पनि सधैं आकर्षक पोष्टिङ पाउनेमा पर्दछन् ।

इन्स्पेक्टर हुँदा थानकोट र सिमराजस्ता प्रहरी कार्यालयको इन्चार्ज भएका र त्यसपछि पनि आकर्षक ठाउँ बस्दैआएका जीसी कहिल्यै तालिम केन्द्र र कर्णाली अन्चलमा गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्