Logo
Logo

तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा


756
Shares

तेह्रथुम । काेशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई तेह्रथुम सदरमुकाम म्याङलुङको जिरिखिम्ति बजारमा कालो झण्डा देखाइएको छ । कोशी नामले आम प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व गर्न नसक्ने भन्दै प्रदेश नं. १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले पुन नामांकनको माग राख्दै आन्दोलन गर्दै आएको छ ।

आन्दोलनकै क्रममा आज बुधबार तेह्रथुम पुगेका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन् । सो क्रममा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । विरोध प्र्रदर्शनपछि आयोजित कोणसभामा लाजेहाङ फोर्सको कमाण्डर धनेन्द्र सुब्बालगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले कोशी नाम खारेजी नभएसम्म आन्दोलन बढ्दै जाने बताए ।

कोशी नाम राख्न हस्ताक्षर गर्ने ८२ प्रदेश सांसद र प्रदेशमा साम्प्रदायिक अभिव्यक्ति दिने केपी ओली, योगेश भट्टराई र महेश बस्नेतविरुद्ध प्रदर्शन जारी रहेको बताएका छन् ।

कोशी नाम खारेजी गरेर पुन नामाङ्कन नभए आगामी मंसिरमा विराटनगरमा वृहत प्रदर्शनपछि नयाँ चरणको आन्दोलन थाल्ने सयुक्त संघर्ष समितिको ताप्लेजुङ बैठकले निर्णय गरेर तयारी थालेको छ ।

आन्दोलनमा राई, लिम्बू, शेर्पा लगायतका सामुदायिक साझा संस्थाहरु, नेपाल आदिबासी जनजाति महासंघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नाउपा, दुबै सजपा, पहिचानवादी मोर्चा, माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चाहरु सहित ४१ वटा संगठनहरु सहभागी रहेका छन् ।

पहिलोपटक मुख्यमन्त्री बनेको बेला हिक्मत कार्कीकै नेतृत्व सरकारको पहलमा कोशी नाम राखेका थिए । तेस्रोपटक मुख्यमन्त्री बनेका हिक्मत कार्कीले राम राना मगरलाई वार्ता समितिको संयोजक बनाएपछि कोशी नामको प्रस्तावक रानासँग नभएर मुख्यमन्त्रीसँग मात्र वार्ता हुनसक्ने संयुक्त संघर्ष समितिले जनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्