रौतहट । प्रादेशिक अस्पताल गौरका अध्यक्ष अनबर हासमी अस्पताललाई व्यक्तिगत सम्पत्ति ठान्दै एकपछि अर्को भ्रष्टाचारजन्य क्रियाकलापका कारण विवादमा आएका छन् । अस्पताललाई व्यक्ति सम्पति ठानेर मनोमानी ढंगले आफ्नो नातेदारदेखि पार्टीका कार्यकर्ताको रोजगारी दिने भर्ति केन्द्र बनाएका कारण अध्यक्ष हासमी विवादमा आएका हुन् ।
नेपाल सरकारको आर्थिक ऐन कानुनलाई वेवास्ता गर्दै प्रादेशिक अस्पताल गौरमा आफैंले निर्माण तथा खरिद कार्य गर्दै भ्रष्टाचार तथा नियमितताको गरेको उनीमाथि आरोप छ ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरको सहमतिमा अध्यक्ष हासमीले टाईल्स जडान, औषधि खरिद, मर्मत सम्हार र रङ्गरोग्न, विभिन्न उपकरण खरिददेखि करारको कर्मचारी भर्नामा अनियमित अपारदर्शी ढंगले गरेको कुरा चर्चाको विषय बनेका छन् ।
उपेन्द्र यादव अध्यक्ष रहेका जनता समाजवादी पार्टीको कोटाबाट अध्यक्ष बनेका हासमी आफुले गरेको भ्रष्टाचारको पोल खुल्ने डरले कहिले एमाले त कहिले काङ्ग्रेस पार्टीको नेता नजिक दौड धुपमा लागेको नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव सन्जय सहनीला बताए । तर, प्रदेशमा सुशासन ल्याउनको लागि बनेको जनमत पार्टी अध्यक्ष सिके राउत नेतृत्वको प्रदेश सरकारले आफ्नो पोल खोलिदिने डरले हासमीको होस् उडेको देखिएको सह सचिव सहनीले बताए ।
अस्पताल जस्तो पवित्र ठाउँलाई अनियमितता र लुटखसोटको अखडा बनाएको भन्दै स्थानीयले अध्यक्ष हासमीलाई बर्खास्तको माग गरेका छन् । प्रादेशिक अस्पताल गौरका हरेक गतिविधि लामो समयदेखि नजिकबाट हेरिरहेका युवा पत्रकार जितेष यादवले प्रादेशिक अस्पताल गौरमा भ्रष्टाचार र अनियमितताको छानबिन भए मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुर, लेखापाल मनोज यादव र अध्यक्ष अनवर हासमी जेल जाने पक्की जस्तो रहेको उनले दाबी गरे ।
पत्रकार यादवका अनुसार टायल्स, औषधि खरिद, न्यानो झोला, अस्पतालमा सुत्केरी गराउनेले पाउने रकम र करारका कर्मचारी भर्ना लगायतका काण्डको तत्काल छानबिन गरी दोषीलाई कडा कारवाही नभए अझै भ्रष्टाचार बढेर जानेछन् । गौर अस्पतालमा जाने गरेका सेवाग्राहीलाई प्राइभेट क्लिनिकमा पठाउने काममा अध्यक्ष हासमीकै हात रहेको सेवाग्राहीको गुनासो छ ।
अस्पताल बिकास समितिले अस्पतालको बिकास नगरी आफ्नो व्यक्तिगत विकासमा लागेको विषयमा कुरा गर्न अध्यक्ष हासमीसंग सम्पर्क गर्दा हुन सकेन । साथै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुरसँग सम्पर्क गर्दा फोन उठेन । मधेश प्रदेश सरकार यसमा गम्भीर भई प्रादेशिक अस्पताल गौरको अनियमितता छानबिन गराउनुपर्ने देखिन्छ ।











