काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेकोपार्टीका प्रवक्ता शरद सिंह यादवले जानकारी दिए ।
मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधेको प्रवक्ता यादवलेले जानकारी दिए । मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि स्पष्टीकरण सोधिएको प्रवक्ता यादवले बताए ।
‘खासगरी मन्त्रीमण्डल विस्तारमा पार्टीसँग समन्वय गर्नु भएन, प्रदेश सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिनुभयो । पार्टीको निर्देशन विपरीत गतिविधि हुँदा पार्टीको बदनामी भइरहेको छ, यही विषयहरू राखी मुख्यमन्त्रीसँग जवाफ मागिएको छ’, प्रवक्ता यादवले भने ।
मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ ।