बुटवल । बुटवलमा साँढेको आक्रमणमा परेकी महिलाको मृत्यु भएको छ । साँढेको जुढाईमा परेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।
गुल्मीको रेसुंगा नगरपालिका–४ घर भई बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बस्दै आएकी सीताले पुल्चोकनजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

गत साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा उनी छाडा साँढेको आक्रमणमा परेकी थिइन् । सीताको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।
छाडा दुई साँढेबीच सडकमा जुध्दै गरेका बेला दूध लिन हिँडेकी सीतालाई साँढेले कुल्चिएपछि गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको सीताको २४ गते मृत्यु भएको हो । उनका दुई बच्चा रहेका छन् । बुटवलमा छाडा चौपाया नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ ।














