
काठमाडौं । धरान उपमहानगरपालिका खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेको छ । आइतबार नगरप्रमुख हर्क साम्पाङ र आन्दोलनरत विभिन्न १० राजनीतिक दलबीच खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायत ३ बुँदे सहमति भएको हो ।
खानेपानीको शुल्क र महसुल बढाइएपछि राजनीतिक दलहरु तीन सातादेखि चरणबद्ध आन्दोलनमा थिए । उक्त सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।
खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।














