Logo
Logo

कोरोना संकट : कालो बादलमा चाँदीको घेरा


रमेश घिमिरे


  • रमेश घिमिरे
    स्वतन्त्र पत्रकार

काठमाडौं, २६ बैशाख । नेपाल कोभिड-१९ विरुद्ध लडिरहँदा राष्ट्रिय स्वाभिमान, स्वाधीनता र सार्वभौमसत्ता अक्षुण्य राख्नका निमित्त स्वतः स्फुर्तरूपमा केही काम भइरहेका छन् ।
भनिन्छ, हरेक कालो बादल चाँदीको घेरा लिएर आउँछ । त्यस्तै, कहिल्यै व्यवस्थित नभएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिय कानूनको परिधिमा रहेर नेपाल सरकार आफ्नो मुलुकका नागरिकलाई कोरोनाबाट जोगाउन व्यवस्थित गर्न बाध्य भएको छ ।
किनभने, भारतमा कोरोना भयावह रूप लिनेतर्फ गइरहेको छ ।
नेपालमा कोरोनाको हट स्पट मानिएका उदयपुर, नेपालगन्ज र बीरगन्जमा भेटिएका कोरोना संक्रमित भारतबाट भर्खरै आएका नेपाली नागरिक र भारतीय नागरिक नै छन् ।
यसबाट के स्पष्ट हुन्छ भने नेपाललाई कोरोनाबाट जोगाउनाका निमित्त नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा कठोर रुपमा सिल गरिनै पर्दछ । यसको कुनै विकल्प छैन । नेपाल सरकारको गृह मन्त्रालयले हालै भारतकै
हाराहारीमा नेपाल–भारत सीमा चेक पोष्टको संख्या ५१२ गर्ने निर्णय भएको छ । यो अत्यन्त सह्रानीय निर्णय हो । यसका साथै नेपाल–भारत सीमाको पाँच किलोमिटर वर नेपाली सेनाको गस्तीको पनि व्यवस्था गरेको छ । किनभने, विगत केही दिन यता नेपाल–भारत सीमामा खटिएका सशस्त्र प्रहरी र जनपद प्रहरीमाथि घरेलु हातहतियारका साथ भारतीय नागरिकले आक्रमण गरेको समाचार आएका छन् ।
यस्तै भारतीय सीमा सुरक्षा बलका जवानले पनि नेपाली सुरक्षाकर्मीमाथि आक्रमण भएका समाचार आएका छन् । यस विषम परिस्थितिमा नेपालले आफ्नो मुलुकको सीमा कसरी जोगाउने भन्ने पाठ सिकेको छ । सो बमोजिम काम पनि गर्दै आएको समाचारहरू आएका छन् । थाहा भएअनुसार सशस्त्र प्रहरीमा ८ हजार दरबन्दी थपिँदै छ । जुन आवश्यक छ ।
नेपाल–भारत सीमामा अहिले जुन सुरक्षा व्यवस्था छ त्यो पछिसम्म पनि कायम रहनुपर्दछ । नेपाल–भारत प्रवुद्ध समूहले पनि यही सुझाव दिएको छ ।
नेपाल लकडाउन भएको ६ साता बितिसकेको छ । संक्रमितको संख्या बढिनैरहेको छ । यस परिस्थितिमा हामीले परिक्षणको दायरा बढाउनुका साथै आर्थिक गतिविधि सञ्चालन गर्नु अत्यन्त आवश्यक छ ।
लकडाउन खुल्ना साथ मुलुक बाहिर रहेका लाखौँ नेपाली नेपाल भित्रिन तम्तयार भएर बसेको छन् । उनीहरूको उचित व्यवस्थापन हुन सकेन भने अर्को संकट आइलाग्ने छ । लकडाउनमा जनता भोकै बस्नुपर्यो भने त्यसले अकल्पनिय संकट निम्त्याउने छ । त्यसकारण कोरोना संकटका बीच पनि आर्थिक गतिविधि सञ्चालन गर्नु आवश्यक छ ।
लकडाउनका बीच पनि भारतबाट अरबौँ रूपैयाँको खाद्य सामग्री आयात भइरहेको छ । तसर्थ, नेपाल सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गरि नेपाललाई कृषि उत्पादनमा स्वाबलम्बी बनाउनुपर्दछ । पहिले पनि हामी कृषि उत्पादनमा स्वाबलम्बी नै थियौँ । धान चामल निर्यात कम्पनीको माध्यमबाट हाम्रो धान चामल भारतको केरलासम्म पुग्थ्यो ।
मुलुक असाधारण संकटमा परेको बेला अनावश्यक राजनीतिक किचलो पैदा गरि सत्ताको लागि लडाइँ लड्ने बेला यो होइन ।दुई ठूला कम्युनिष्ट पार्टी एक भएर निर्वाचन लडेको हुनाले नै नेपालमा वामपन्थी सरकार आएको हो । यसको दुरूपयोग भएमा नेपालको वामपन्थी आन्दोलन कहिल्यै नउठ्ने गरी थलापर्ने छ । सबैलाई चेतना भया ।

Twitter : @rmshghimire

प्रतिक्रिया दिनुहोस्