Logo
Logo

गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही गाउँपालिका वडा नं. १ अन्तर्गतका स(साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकममा अनियमितता गरेको ठहर भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसबारे उजुर परेसँगै अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर संजय कुमार मंडलले योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार काम नगरी रु. ८ लाख ६५ हजार १४५ भुक्तानी गर्न भूमिका खेलेको पाइएकाले उनीहरुविरुद्ध सो बराबरको बिगो मागदाबी लिइएको छ ।

यसैगरी एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले समेत स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको अख्तियारले जनाएको छ ।

सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानीसमेत भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्