Logo
Logo

विकल्प नहुनुको बाध्यता


- बिन्दिया प्रधान


अलि अप्ठेरो मोडमा आइपुगेका छौँ हामी । लकडाउन विस्तारै खुकुलो हुन थालेको छ । तर मनहरु त्रसितनै छन् किनकि कोरोना संक्रमितको संख्या झन बढ्न थालेको छ ।

युवा अवस्थाका कामकाजी र रोजगारहरु लकडाउन खुल्ला हुन थालेकोमा खुशी नै देखिन्छन् । किनकि बन्दाबन्दी कहिलेसम्म त ? भन्ने चिन्ताले सरकारी कार्यालय, बैंक वित्तीय संस्था, अन्य संघसंस्था र व्यवसायहरु विस्तारै सञ्चालन हुन थालेका छन् । सबैको गिर्दो आर्थिक अवस्थाले छिटो निकास खोजिरहेको थियो र यो आवश्यक पनि भइसकेको थियो । तर कस्तो अलि नमिले जस्तो धेरै व्यवसाय, मान्छेहरु अर्थात् ग्राहकहरुचाहिँ लकडाउनमा नै थन्किएका छन् अनि अफिसहरु मात्र खुल्ला भएर पूर्ण कारोबार सञ्चालन भन्न नसकिने अवस्था रहिरहेको छ ।

बिन्दिया प्रधान

अर्कोतिर, जो कामकाजी छैनन्, अवकाशप्राप्तमा पनि जो वृद्धाअवस्थामा छन् उनीहरु बढी त्रसित र असुरक्षित छन् । किनभने कोरोना भाइरसले बढी वृद्धाअवस्थाकाहरुलाई नै छिटो आक्रमण गरी उनीहरुको बढी मृत्यु भइरहेको देखियो । आर्थिक गतिविधि सञ्चालन गर्न लकडाउन खोल्न जरुरी भए पनि वृद्धाअवस्थाका नागरिक, दीर्घरोगीहरु र कमजोर स्वास्थ्य भएकाहरुलाई जोगाउन रोग अझ फैलिरहेको बेला खतरा पनि बढ्ने चिन्ता एकातिर थपिएको छ ।

चाइनाको नेशनल हेल्थ कमिसनले अलि अगाडि गरेको एक अध्ययनअनुसार कोरोना संक्रमणले मृत्यु हनेहरुमध्येको ८० प्रतिशत बिरामीहरु ६० वर्षभन्दा माथिकाहरु नै रहेको र ६० भन्दा माथिका उमेर हुनेहरुले बढी सतर्क हुनुपर्ने सल्लाह दिएको थियो । अझ यो कोरोना संकटमा एशियाका वृद्धाअवस्थाका नागरिकहरुको सुरक्षा कसरी गर्ने भनी चिन्ता गरिएको एडिबीडटओआरजी ब्लगको एउटा पोष्टमा एशिया प्रशान्त क्षेत्रमा वृद्धावस्थाकाहरुको जनसंख्या बढी भएको तथ्यांक प्रस्तुत गरिएको छ । जसअनुसार, बिश्वको जनसंख्याको ५८ प्रतिशत अर्थात् झण्डै ६२ करोड ब्यक्तिहरु जसको उमेर ६० वर्षभन्दा माथि छ उनीहरु यही एशिया प्रशान्त क्षेत्रका नै छन् । अनि यो क्षेत्रका वृद्धावस्थाकाहरुमध्ये पनि अधा जति भन्दा बढीमा उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगीहरु छन् जो बढी खतरामा छन् । अझ यो क्षेत्रमा विद्यमान गरिबीका कारण कतिपय वृद्धावस्थाकाहरु स्वास्थ्य सेवा र चिकित्सकहरुको परीक्षणको पहुँचबाट टाढा छन् । यो क्षेत्रका भारत, बंगलादेश, फिलिपिन्स, भियतनाम, नेपालजस्ता देशमा गरिबीकै कारण वृद्धवृद्धाहरु पनि असंगठित क्षेत्रमा मजदुरीको काम गर्न बाध्य छन् । बिगतदेखि नै स्वास्थ्य क्षेत्र राज्यको त्यति प्राथमिकतामा नपरेको नेपालजस्ता देशहरु यही एशिया प्रशान्त क्षेत्रमा नै भएकाले बृद्धहरु बढी जोखिममा रहनु स्वभाविकै हुन्छ । अरु धेरै समस्याहरु रहिरहेको यो क्षेत्रका देशका सरकारहरुलार्ई यो कोरोना संकटबाट वृद्धावस्थाकाहरुलाई कसरी जोगाउने भन्ने समस्या थपिएको छ ।

सामाजिक सुरक्षाका दृष्टिले धेरैपछिदेखि मात्र नेपालमा वृद्धभत्ता उपलब्ध गराउने व्यवस्था त भएको छ तर बढ्दो महंगीमा यो पर्याप्त छैन र नहुनुभन्दा केही भएको भनेर चित्त बुझाउनुको विकल्प पनि छैन । नेपालीहरुमध्ये धेरैको सन्तान विदेशी भूमिमा नै आफ्नो कर्मक्षेत्र बनाएर बसेका र विस्तारै उतै स्थायी भइसकेकाहरुलाई आफ्नो देश र आमाबाबु भनेको भावनात्मकरुपमा मात्र नजिक भएका छन् । बर्षौँपछिको अन्तरालमा घर आउनु र केही कोशेलीपात ल्याउनु उनीहरुका लागि ठूलो कुरा हुन्छ । वृद्ध आमाबाबु भने उनीहरु आएको दिनदेखि नै बाहिर खुसी भए पनि छोराछोरी फेरि फर्किइहाल्छन् भन्ने पीरमा बढी चिन्तित हुन्छन् ।

जो वृद्धवृद्धाहरुको सन्तान यही नै छन् र जसको आर्थिक अवस्था मजबुत छ उनीहरु सुविधाजनक अवस्थामा भए पनि धेरैजसो मध्ययम वर्गीय र तल्लो गरिब वर्गका वृद्धवृद्धाहरु सन्तानका निम्ति बोझ हुन बाध्य भएर कष्टपूर्ण अवस्थामा बाँचिरहन बाध्य छन् । अझ व्यक्तिवादी सोच हाबी हुँदै गएको अहिलेको समयमा धेरै सन्तानहरु वृद्ध आमाबाबुप्रति अनुत्तरदायी हँुदैछन् र कतिपय वृद्धवृद्धाहरु वृद्धाश्रममा शरण लिइरहेछन् । उनीहरु बरु सुरक्षित होलान् वृद्धाश्रममा । तर कतिपय मानवीय संवेदनशीलता अलिकति पनि नभएका ती धनी होउन् या गरिब उनीहरुका बृद्ध आमाबाबुहरुले झन् बढी दुःख पाएका छन् । यो कोरोना संकटमा त्यस्ता वृद्धवृद्धाहरु अझ बढी चिन्तित र असुरक्षित छन् ।

कोरोना संकटको सबैभन्दा ठूलो असरलाई संक्षेपमा भन्नुपर्दा रोग, भोक र शोक नै हो । रोगसँग जुध्नु परिरहेको अवस्थामा यसबाट बच्ने उपायहरु नै भोक सिर्जनाका कारण बनेको हो । विकसित देशहरुमा कोरोना रोग मात्र हो भने अविकसित र विकासशील देशहरुका लागि रोगभन्दा बढी भोक भएर यो उर्लियो । लकडाउन भयो, व्यवसायहरु सबै बन्द हुँदा कामहरु रोजगारीहरु खोसिए । सबैको आम्दानीको बाटो पूरै सुक्यो । कोरोना कहर आर्थिक पाटोको दुश्मन नै भयो । सहर क्रमशः खाली हुँदै गाँउहरु भरिदै गए । शहर होस् या गाउँ भोकहरु जताततै छन् । आफूसँग भएको अन्नपात सकिदै गए पनि जीवन रहेसम्म भोक कहिल्यै नसकिदोरहेछ । सबैको अनुभव यस्तै रह्यो । निमुखा तल्लो वर्गकाहरु ‘राहत’मा भोक र छाक टार्न विवश छन् चाहे त्यो पर्याप्त होस् या नहोस् । यस्ता लाखौं परिवारमा वृद्धवृद्धाहरुको अवस्था कति नाजुक होला हाम्रो अनुमानहरुभन्दा यो झन् भयाबह पक्कै होला ।

यस्तोमा सामाजिक प्रयासहरु, राहतहरु पर्याप्त र दीर्घकालीन नहुने हँुदा सरकारले जेष्ठ नागरिकका सुरक्षाका लागि, जीवनरक्षाका लागि दीर्घकालीन कार्यक्रम ल्याउन जरुरी देखिएको छ । तर हाम्रो जस्तो विविध समस्याहरुले जकडिएको, कर्मचारीतन्त्र हाबी भएको, यत्रतत्र भ्रष्टाचारले जरा गाडिरहेको, धनी र गरिब बीचको खाल्डो झनै बढ्दै गइरहेको र आम्दानीको न्यायपूर्ण वितरण हुन नसकिरहेको देशमा बनेका कार्यक्रमको समेत कार्यान्वयन हुनसकेको छैन । अहिले त झन् ढुकुटीहरु रित्तिदै गएको छ र ती ढुकुटीमा आम्दानीहरु भित्रिन पाएका छैनन् । आम्दानीका स्रोतहरु सबै कोरोनासँगै लकडाउनमै सति गएका छन् । स्वास्थ्य सामग्रीको उपलब्धता र रित्तो पेटहरुमा अन्नको उपलब्धता अहिलेको ढुकुटीको प्राथमिकता भएकाले दीर्घकालीन राम्रा कार्यक्रमहरु आशा गर्नु मात्र होला ।

त्यसैले दुःखको कुरो अहिले के भएको छ भने धेरै विवश वृद्धवृद्धाहरुको लागि रोग भोक अनि शोकसँगै बाँकीको जीवन ब्यतित गर्नुको विकल्प छैनन् ।

प्रतिक्रिया दिनुहोस्