Logo
Logo

चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा बैतडीबासी सञ्चारविहीन


- दृष्टि न्युज/संवाददाता


बैतडी, १० माघ । बैतडीमा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । सोमबार बेलुकाको हुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।
हुरी र हिमपातले बैतडीको खोड्पे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा रहेका तार टुटेकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाइएको छ ।
जिल्लामा विद्युत् सेवा अवरुद्घ हुँदा यहाँका नागरिक सञ्चारविहीन भएका छन् भने यहाँ सञ्चालित रेडियो प्रसारण तथा अन्य सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन् ।
यसैबीच बैतडीमा बुधबार पनि असिना, वर्षासँगै हिमपात भएको छ । हिमपातले यहाँका राजमार्गसमेत अवरुद्ध भएका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा बन्द भएको छ । अनारखोली, खोड्पेलगायतका क्षेत्रमा बाक्लो हिमपात भएकाले दशरथचन्द राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जनाएका छन् ।
साथै मोतीनगर, ढोल्यामोड, बित्थड, देउलेकलगायतका स्थानमा पनि भारी हिमपात हुँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यसअघि मंगलबार पनि हिमपात भएको थियो । हिमपातले मङ्गलबार पनि राजमार्ग अवरुद्ध भएका थिए । हिमपातले अत्यधिक चिसो बढेकाले जनजीवन पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्