Logo
Logo

चालकले आफू भित्रै बसेर किन लगाए बसमा आगो ?


819
Shares

काठमाडौं । काठमाडौैंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । सोमबार दिउँसो करिब साढे १२ बजेको समयमा चालक २५ वर्षीय दावा लामाले बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा आगो लगाएका हुन् ।

प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ । यात्रुहरू नभएको अवस्थामा चालक लामाले गाडीभित्रै बसेर आगो लगाएका हुन् । आगलागीपछि बस ह्वारह्वार्ती बलेको थियो । आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो ।

आफैँले लगाएको आगोबाट जलेर चालक लामा घाइते भएका छन् उनलाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

चालकले आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन । यद्यपि, ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकोले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्