Logo
Logo

नवल खड्काको खुलापत्र : मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य


- दृष्टि न्युज/संवाददाता


श्री संघीय प्रतिनिधि सभाका माननीय सदस्य
बिषयः खुला अनुरोधपत्र ।

माननीयहरुः
सर्वप्रथम सरकारको नीति तथा कार्यक्रममा उल्लेखित लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य छ । यसैअनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गरिनु हुँदैन । साथै, अब नेपाली जनताले राष्ट्रलाई महाशक्तिको क्रिडास्थल बन्न दिनु हुँदैन भन्ने चाहनाविपरित एमसिसीलाई जस्केलाबाट छिराई सदनमा पास गराउँन खोजिएकोमा आपत्ति जनाउछु ।

नायक तथा निर्माता नवल खडका

माननीयहरुलाई विदितै छ– नेपाल कहिल्यै कसैको उपनिवेश बनेन । तर, शासकहरुका स्वार्थका कारणले खासगरी सुगौंली सन्धिपछि ब्रिटिस अधिनस्थ भारत र हालको भारतीय शासकहरुको हेपाईले आक्रान्त भइरह्यो । जुन हाल भइरहेका अनेकन घट्नाहरुले सम्झाइरहन्छ । हाल भारतीय पक्षले हाम्रो सीमाभित्र निर्माण गर्दै गरेको बाटोले पुराना सम्झनाहरुलाई बल्झाएको छ ।
यो मुलुकको एकिकरणमा हाम्रा सबै जातजाति जनजातिका पुर्खाहरुले रगत बगाएका छन् । देशको सिमाना कायम गर्नका लागि हाम्रा हजारौँ हजार बीर पुर्खाले पानी पिउन नपाएर प्याक प्यक्ति हुँदै अंग्रेज फिरंगीहरुको तोप, बारूदसँग लडेका छन् । यसरी आर्जेको मुलुक हो हाम्रा पुर्खाका पसिना र रगतले आर्जेको भूमि हो । तर, आज भारतीय पक्षहरुबाट भइरहेका बारबारका प्रयासहरुबाट हाम्रो मुलुको सीमा कायम नरहने अवस्था बन्दैछ । यसकारण मुलुकको सार्वभौमिकता र आत्मसम्मान रक्षार्थ देशका सम्पूर्ण नेता, राजनीतिक पार्टी, एवं नागरिक एकबद्ध हुनुपर्ने बेला भएको छ । जसको आह्वान र संकल्प संघीय प्रतिनिधि सभाका माननीय सदस्यहरुले गर्नु पर्नेछ ।
यसर्थ, माननीय सांसदहरुलाई मुलुकको सार्वभौमिकता र आत्मसम्मान रक्षार्थ निम्नलिखित मागहरुलाई सम्वोधन गरिदिनु हुन खुल्ला अनुरोधपत्र पेश गर्दछु ।
१, एमसीसी आयोजनालाई यथास्थितिमा पारित गरिनु हुँदैन । राष्ट्रको अपमान र नेकपाको केन्द्रिय कमिटिको निर्णयलाई कुल्चँदै झ्यालबाट छिराउने प्रयासप्रति दुःख ब्यक्त गर्दै एमसिसिबारेको नेकपाको सुझाव कमिटिले औंल्याएका र विदेशी सेना नआउने, नेपालकै संविधान, नियम, कानुन मुताविक कार्यसम्पादन हुने प्रष्ट बूँदालगायत राष्ट्रको स्वाभामिनलाई उँचो हुने अवस्थामा मात्र यसलाई पारित गर्न सबै माननीय संसदहरुलाई अनुरोध गर्छु ।
२, सरकारको नीति तथा कार्यक्रममा उल्लेखित लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय स्वागतयोग्य छ । यसैअनुरुप संविधानमा भएको नक्सासमेतलाई सच्याउन विलम्ब गरिनु हुँदैन ।
३, सिमानाका बिषयमा कुटनैतिक वार्ता दुईपक्ष, आवश्यक परे वा स्वीकारेमा त्रिपक्ष (भारत, चीन, नेपाल)बाट समस्या समाधान गरिनु उचित हो तर यसका लागि भारतीय पक्ष तयार नहुन सक्छ । यसर्थ अन्तर्राष्ट्रिय अदालतमा जाने मार्ग प्रशस्त गरिनुपर्छ ।
४, सरकारको नीति तथा कार्यक्रममा उल्लेखित कोरोना महामारी बिरूद्ध केन्दित हुने बिषय स्वागतयोग्य छ र यसमा प्रभाकारी ढंगबाट स्वास्थ्य उपचार र ब्यबस्थित राहतको माग गर्दछु ।
५, भष्टाचारप्रति शुन्यसहनशीलता कार्यमा रुपान्तरण भई, अपराधिलाई शसक्त कार्बाहिको माग गर्दर्छु ।
६, श्रमिक, श्रमजीवी, बेरोजगारीका लागि, रोजगारी र विदेशमा अलपत्र परेका नेपालीलाई नेपाल ल्याउने उचित ब्यबस्था तुरुन्तै गरियोस् ।
७, १८ बर्षमाथिका सम्पूर्ण नेपालीलाई सैनिक तालिम अनिवार्य दिने ब्यबस्था गरियोस ।
८, विवाद नभएका सीमाक्षेत्रमा सिमानामा काँडेतार लगाउन शुरु गरियोस ।

निवेदकः
सिमानामा काँडेतार अभियानको तर्फबाट अभियन्ताः  नायक तथा निर्माता नवल खडका ।
६ जेठ, २०७७, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्