Logo
Logo

विश्व रेकर्ड होल्डर बुढा मगरलाई युकेको दुई प्रतिष्ठित अवार्ड


378
Shares

लण्डन । विश्व रेकर्ड होल्डर आरोही तथा पूर्वगोर्खा सैनिक हरी बुढा मगर ‘एमबीई’लाई यो महिना युकेको दुई प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ । उनले ‘सोल्जरिङ अन अवार्ड्स २०२४’मा ‘प्रेरणा अवार्ड’ र ‘प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४’ मा ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन् ।

को हुन् हरी बुढा मगर एमबीई ?

पश्चिम नेपालको दुर्गम गाउँमा जन्मेका हरी बुढा मगर साहस, दृढता र आशाका प्रतीक हुन् । १९ वर्षको उमेरमा ब्रिटिश सेनाको गोर्खा ब्रिगेडमा भर्ती भएर उनले पाँच महाद्वीपमा १५ वर्ष सेवा गरे । सन् २०१० मा अफगानिस्तानमा ब्रिटिश सेनाका तर्फबाट शान्ति स्थापनार्थ खटिएर जिम्मेवारी बहन गर्दै पट्रोलका क्रममा बिद्रोहीहरुले थापेको बिद्युतीय धराप आईईडी टेक्दा विस्फोटमा परेर उनले दुवै खुट्टा गुमाए ।

घटनापछि मानसिक तनाव र दुःखका दिनहरू बिताउँदै गर्दा हरीले आफ्नो जीवनलाई पुनःनिर्माण गर्ने निर्णय गरे । उनले कायकिङ, प्याराग्लाइडिङ, स्कीइङ, पौडी खेल्नेसहितका चुनौतीहरू सामना गरे । सगरमाथामा मानव पाइला राखेको ७०औँ बर्षगाँठ १९ मे २०२३ मा हरीले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर दुवै घुँडामाथि खुट्टा नभएका पहिलो व्यक्ति बन्ने ऐतिहासिक उपलब्धि हासिल गर्दै ईतिहास रचे ।

यो सफलता पाउनुअघि उनले नेपाल सरकारले लगाएको अपांगता भएका व्यक्तिहरूको आरोहण प्रतिबन्ध हटाउन कानुनी लडाइँ लडेर असमानता बिरुद्धको कानुनी संघर्ष जिते । त्यसपछि कृत्रिम खुट्टाको डिजाइन निर्माण गरे, र आफ्नो अभियानको लागि आवश्यक कोष जुटाएर आरोहणका लागि अघि बढे ।

पुरस्कार र सम्मान
‘सोल्जरिङ अन अवार्ड्स २०२४’ अक्टोबर १६ मा वेस्टमिन्स्टरको पार्क प्लाजा होटलमा आयोजित गरिएको थियो । जहाँ हरीलाई ‘विशेष प्रेरणा अवार्ड’ प्रदान गरिएको थियो । धेरै प्रतिष्पर्धीमध्ये फाइनल पुगेका ३ फाइनालिष्टमध्ये हरिले यो अवार्ड प्राप्त गरेका हुन् । यो अवार्ड सशस्त्र बल समुदायमा रहेका व्यक्तिहरूलाई दिइन्छ । हरीको सगरमाथाको सफल आरोहण र प्रेरणादायी यात्रा यस अवार्डको प्रमुख कारण थियो ।

अक्टोबर १९ साँझ सम्पन्न ‘प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४’मा हरीलाई ‘विशेष मान्यता अवार्ड’ प्रदान गरियो, जुन यूकेका नचिनिएका नायकहरूको सम्मान गर्न आयोजित कार्यक्रम हो । यो पुरस्कार उनलाई अपांगता अधिकारको पक्षमा लड्न र भौतिक सीमाहरूले कसैको सपना पूरा गर्न रोक्न हुँदैन भन्ने कुरा प्रमाणित गर्नका लागि प्रदान गरिएको हो ।

प्राइड अफ ब्रिटेन अवार्ड्स २०२४ कार्यक्रममा २०१० यताका युकेका भूतपूर्व प्रधानमन्त्रीहरू, मन्त्री र हालका प्रधानमन्त्री लगायत कलाकार, सेनाका बहालवाला र पूर्वअधिकृतहरूको उपस्थिति थियो । हरी बुढा मगरको इन्टेक ९९ का बहालवाला सेनाका अधिकृत र अवकास प्राप्त नम्बरीहरूले उपस्थित भएर बधाई दिँदा हरीले खुशीको आँसु पुछ्दै धन्यवाद दिएका थिए । अवार्ड कार्यक्रमको सम्पूर्ण भाग युकेको राष्ट्रिय टेलिभिजन आईटिभी–१ बाट २३ अक्टोबर (आज)मा प्रसारण हुनेछ ।

भविष्यको योजना
हरीको यात्रा अपांगताको धारणा परिवर्तन गर्न मात्र नभई, लाखौं व्यक्तिलाई आफ्ना चुनौतीहरू पार गर्न प्रेरित गर्ने उद्देश्यले अघि बढिरहेको छ । उनी सात महाद्वीपका सर्वोच्च शिखरहरू आरोहण गर्ने योजना अनुसार आफ्नो लक्ष्यमा अघि बढिरहेका छन् । र, ८८४,९०० (सगरमाथाको उचाइमा दुई शून्य थपेर) जुटाएर पूर्वसैनिक र सैन्य च्यारिटीहरूलाई प्रदान गर्ने लक्ष्यका साथ आर्थिक संकलन पनि जारी राखेका छन् ।

हरी बुढा मगर अहिले युकेको केन्ट, क्यान्टबरीमा दुई छोरा, एक छोरी र श्रीमतीसहित परिवारसँग बसोबास गर्दै आएका छन् । हरीको यात्रा साहस, दृढता, र मानवीय आत्माको शक्ति भएको प्रमाण हो, जसले अपांगता भएका व्यक्तिहरूलाई मात्र होइन, सबैलाई प्रेरणा दिइरहेका छन् ।

‘मैले आफ्नो चुनौतिको सगरमाथा चढ्न सफल भएँ, तपाईं पनि आफ्नो सगरमाथा चढ्न निरन्तर लागि रहनुहोस्, अवश्य सफल हुनुहुनेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्