काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट आफैले बिक्रि गर्ने भएको छ ।

मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले सुरक्षाका कारणले फाइनल खेलको टिकट आफैले बिक्री गर्ने निर्णय गरिएको जनाएको हो ।
बुधबार नै जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीको स्थिति आर्मी हेडक्वाटरको गेट बाहिर बिक्री गरिने एन्फाले जनाएको छ ।
यसअघि नेपाल र भारतबीचको सेमिफाइनल खेलको टिकट सिट सङ्ख्याभन्दा बढि बिक्री गरिएको पाइएको एन्फा प्रवक्ता सुरेश शाहले बताए । माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार लिएको थियो । एन्फाले फाइनलका लागि उक्त कम्पनीले बिक्री गरेको टिकट रद्द गर्दै टिकटको रकम फिर्ता गर्न भनिसकेको प्रवक्ता शाहले जानकारी दिए ।
एन्फाले साधारणतर्फ ११ हजारको सङ्ख्या र र भिआइपी १ हजार मात्र टिकट बिक्री गरिने जानकारी दिएको छ । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बङ्गलादेशबीच साँझ साढे ६ बजे सुरु हुने एन्फाले जनाएको छ ।











