Logo
Logo

नेपालमा पनि आन्तरिक उडान सुचारु गर्ने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ ।
कोरोना संक्रमण बढीरहे पनि नेपालमा पनि आन्तरिक हवाई उडान सञ्चालनको गृहकार्य सुरु भएको छ । असारदेखि हवाई उडान सुचारु गर्न लागिएको हो ।संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्दे्शिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । भारतमा पनि सोमबारदेखि उडान सुचारु गरिएको थियो ।


आन्तरिक उडान सञ्चालनका लागि विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र विभिन्न सुरक्षा प्रबन्ध हुने गरी संरचनाहरू तयार गरिरहेको हो । प्राधिकरणले देशभरका विमानस्थललाई निर्देशिकासमेत पठाइसकेको छ । अन्तर्रा्ष्ट्रिय उडानको पनि निर्दे्शिकाको तयारी प्राधिकरणले सुरु गरेको छ ।

विमानस्थलमा यात्रुहरूबीच दूरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचना तयार पारिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । ‘आन्तरिक विमानस्थलहरूलाई निर्दे्शिका पठाइसकेको र सोहीअनुसार संरचना तयारीमा एयरलाइन्स र विमानस्थल जुटेका छन्,’ क्षत्रीले भने ।

नेपालमा जेठ मसान्तसम्म सबै व्यवसायिक उडान बन्द गरिएको छ । लकडाउन २० जेठसम्म छ । २० जेठपछि लकडाउन पनि खुुकुलो बनाउन लागिएको छ । कोरोना संक्रमण महिनौंसम्म जारी रहने देखिएपछि स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड लागू गरेर २० गतेपछि थप केही क्षेत्रलाई खुला गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्