Logo
Logo

कोरोनाबाट विदेशमा १२८ नेपालीले ज्यान गुमाए, मध्यपूर्वमा संक्रमण बढ्ने खतरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ जेठ (रासस) ः कोभिड–१९ भाइरसको सङ्क्रमणबाट शनिबारसम्म विश्वभर १२१ गैरआवासीय नेपालीको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । सङ्घका अनुसारका यो साता थप सात जना नेपाली गरी १२८ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यो साता मात्रै संयुक्त अरब इमिरेट्स (युएइ)मा एक, बेलायतमा एक, अमेरिकामा एक, बहराइनमा दुई, कुवेतमा एक र साउदीअरबमा एक नेपालीको ज्यान गएको सङ्घले उल्लेख गरेको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (युएइ) मा १९ नेपालीको निधन भएको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको सङ्ख्या १७ पुगेको छ । यस्तै साउदीअरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई, कतारमा एक, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्डमा एक र स्वीडेनमा एक जनाको मृत्यु भएको सङ्घले जनाएको छ । एनआरएनएका अनुसार नेपालबाहेक नेपाल बाहिर १४ हजार बढी गैरआवासीय नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सङ्घको स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएइ, युके, साउदीअरब, कुवेत, बहराइन, मलेशिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीटरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्यूजील्याण्ड, हङकङ, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्डलगायतका ३४ देशका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये चार हजार ५०० भन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो । यो साता डेनमार्क र टर्कीमा रहेका नेपालीमा नयाँ सङ्क्रमण देखिएको हो ।

यसैबीच विदेशस्थित नेपाली फर्काउन सङ्घले सरकारलाई सघाउने भएको छ । सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णय स्वागतयोग्य भएको बताउँदै गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले प्रभावकारी कार्यान्वयनका लागि समेत अनुरोध गर्नुभएको छ । अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षितरूपमा नेपाल फर्काउन गैरआवासीय नेपाली सङ्घ सहजीकरणका लागि तत्पर रहेको समेत उहाँले बताउनुभयो ।

सङ्घका महासचिव डा हेमराज शर्माले सरकारले चाहेको खण्डमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएले आफ्नो स्रोत साधनको प्रयोग गरी परीक्षणका लागि चिकित्सकीय टोलीको व्यवस्था गर्न सक्ने बताउनुभयो । उहाँले विभिन्न देशबाट नेपाल जान चाहने नेपालीको लगत सङ्कलन गर्नसमेत एनआरएनए सक्रिय रहेको जानकारी दिनुहुँदै समस्यामा रहेका नेपालीको सहयोगका लागि विभिन्न देशमा रहेका दूतावाससँग समेत एनआरएनएले सहकार्य गरिरहेको जनाउनुभयो ।

पछिल्लो समय युरोपका देश र अमेरिकामा भन्दा पनि मध्यपूर्वका देशमा नेपाली सङ्क्रमित हुने क्रम बढेको देखिएको बताउँदै महासचिव डा शर्माले यसले थप चिन्ता बढाएकाले सरकारले चाहेको सहयोग गर्न सङ्घ सदैव तयार रहेको बताउनुभयो ।

यता सङ्घका कोषाध्यक्ष महेश श्रेष्ठले सङ्घले कोभिड–१९ लाई लक्षित गरी आर्थिक सहयोग सङ्कलन र सङ्कलित सहयोगको परिचालनको कामसँगसँगै गरिरहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय समन्वय केन्द्रमार्फत कोभिड–१९ को असरबाट बढी प्रभावित देशहरुमा त्यहाँ रहेको सङ्घको राष्ट्रिय समन्वय परिषद्को अनुरोधमा आर्थिकलगायतका सहयोगका कार्यक्रम भइरहेको जनाउनुभयो । साथै स्थानीयरूपमा समेत सङ्घको राष्ट्रिय समन्वय परिषद्हरुले स्थानीयरूपमा निरन्तर सहयोगका कार्यक्रम गरिरहेको जानकारी दिनुभयो । विश्वभर ८२ देशमा एनआरएनएको राष्ट्रिय समन्वय परिषद् रहेका छन् ।

यसैबीच सरकारले प्राथमिकताका आधारमा विदेशमा समस्यामा परेकादेखि लिएर नेपाल फर्कन चाहने अन्यलाई देश फर्काउने निर्णय गर्दै त्यसका निम्ति बजेटको समेत व्यवस्था गरेपछि विदेशमा अलपत्र परेका नेपालीले खुशी व्यक्त गरेका छन् । विभिन्न देशमा रहेका नेपाली दूतावास तथा गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समन्वय परिषद्हरुले समेत तथ्याङ्क सङ्कलनलाई तीव्रता दिएका छन् । अमेरिका, युरोपका देश, मध्यपूर्वका देश, एशियाका देश, विभिन्न आइल्याण्डमा रहेका समस्यामा परेका नेपाली नेपाल फर्कन प्रतिक्षारत छन् ।

अहिले मध्यपूर्वका देशमा तुलनात्मकरूपमा बढी नेपाली प्रभावित भएकाले शुरुआत त्यहाँबाट गर्न गैरआवासीय नेपाली सङ्घका प्रवक्ता डिबी क्षेत्री आग्रह गर्नुहुन्छ । “कतिपय नेपाली नेपाल फर्कनका लागि सेल्टरमै बसिरहनुभएको छ, खासगरी महिला दिदीबहिनीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । त्यसपछि क्रमशः रोजगार गुमेका नेपाली, भ्रमणलगायतका विभिन्न भिसामा रहनुहुने जो लकडाउनका कारण अलपत्र हुनुहुन्छ, उहाँहरुलाई नेपाल फर्काउनु पर्दछ”, सङ्घका प्रवक्ता क्षेत्रीले भन्नुभयो, “नेपाल गएपछि पनि उहाँहरुलाई अनिवार्य सेल्फ होस् वा होम क्वारेन्टाइन गर्नका लागि व्यवस्था गर्नुपर्दछ, जाने नेपालीले पनि स्वास्थ्य संवेदनशीलतालाई बुझेर सरकारलाई सहयोग गर्नुपर्दछ, सङ्घले पनि त्यसमा सहयोग गर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्