Logo
Logo

सक्रिय राजनीतिमा फर्कंदै उपराष्ट्रपति


945
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको बेला पूर्वउराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि माओवादीको सक्रिय राजनीतिमा फर्किने निश्चित भएको छ ।

माओवादी जनमुक्ति सेनाका पूर्वकमाण्डरसमेत रहेका पासाङ उपराष्ट्रपति पदमा करिब दुई कार्यकाल बिताएर पूर्ववत् पार्टीको सक्रिय राजनीतिमा फर्किने मनशायले पार्टी बैठकमा समेत सहभागी हुन थालेका छन् ।

गत सोमबार पार्टीको पदाधिकारी बैठकमा सहभागिता जनाएका पुन पार्टीमा जिम्मेवार भूमिकासहित पुनः सक्रियताको लागि अन्तिम गृहकार्य गरिरहेका छन् । पासाङको पुनरागमनले माओवादीको आन्तरिक राजनीतिमा भने तरंग आएको छ ।

माओवादी स्रोतका अनुसार पासाङलाई उपाध्यक्ष दिनेगरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक तयारी थाले पनि पुनले भने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठभन्दा वरियतामा आफू माथि रहनुपर्ने माग गरेका छन् । उनले पार्टी अध्यक्ष प्रचण्डसँग तारन्तारको भेटमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेको उनी निकट स्रोत बताउँछ ।

यसअघि दुई पूर्व सभामुख कृष्णबहादु महरा र अग्नि सापकोटालाई पार्टीको उपाध्यक्ष बनाइएकोले संवैधानिक निकायमा ती भन्दा माथि रहेर उपराष्ट्रपति भइसकेको जिकिर गर्दै पासाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेको माओवादी स्रोतले बतायो ।

पूर्वउपराष्ट्रपति पासाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि माओवादीका हालका पदाधिकारीहरु आफ्नो पद गुम्ने भयले सशंकित बनेका छन् । प्रचण्ड पनि पूर्वसहकर्मी र जनयुद्धका सारथि पासाङप्रति उदार सकारात्मक बनेकाले वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भने असन्तुष्ट रहेको माओवादी स्रोतले बतायो ।

त्यसैले आफूलाई वरिष्ठ उपाध्यक्ष श्रेष्ठभन्दा वरियतामा माथि राख्नुपर्ने अडानमा उनी छन् । आफू वरिष्ठ उपाध्यक्ष भए पूर्वमाओवादीलाई एकतामा ल्याउन पनि पहल गर्ने भन्दै पासाङले प्रचण्डलाई आश्वस्त पार्ने प्रयत्न गरिरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई दिइएको दोस्रो वरियताभन्दा आफू माथि रहनुपर्ने पासाङले दाबी गरेपछि माओवादीमा भने आन्तरिक किचलो बढेको छ । उनले पासाङको वरिष्ठ उपाध्यक्षमा दाबी सुनेर सोमबार उनी सहभागी भएकै बैठकमा असन्तुष्टि व्यक्त गरेको माओवादी स्रोत बताउँछ ।

तर, माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा भने पूर्वउपराष्ट्रपति पुनले आफ्नो राजनीतिक सक्रियताको प्रस्ताव पार्टीमा राखे पनि पदीय विषयमा निर्णय हुन बाँकी रहेको बताउँछन् ।

पूर्वउपराष्ट्रपतिको हैसियतमा उनले राज्यबाट कुनै सेवा सुविधा नलिएको र अन्य दायित्व पनि नभएकाले फेरि पार्टीमै राजनीतिक सक्रियता बढाउने इच्छा व्यक्त गरेको शर्माले बताए ।

अहिले माओवादीमा वरियताक्रमका आधारमा अध्यक्ष प्रचण्ड पछि दोस्रोमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र त्यसपछि अर्का उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन् ।

उपाध्यक्ष महरा पछिल्लो समय पार्टी राजनीतिमा खासै सक्रिय छैनन् । सुन तस्करी लगायतका विभिन्न प्रकरणमा जोडिएपछि महरा पार्टीमा सक्रियता जनाएका छैनन् ।

आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकारकै पालामा आफूलाई अपमानजनक ढंगले गिरफ्तारी गरिएको प्रति महरा नेतृत्वसँग रुष्ट रहेका छन् । प्रचण्डसँग असन्तुष्ट रहेका महरा त्यसयता पार्टीको पदाधिकारी, स्थायी समिति बैठक र प्रदेश परामर्श बैठकमा समेत सहभागी भएका छैनन् ।

पूर्वउपराष्ट्रपति पुनको माओवादीमा पुनरागमनले माओवादीको अर्थराजनीतिमा प्रभाव पार्ने जानकारहरु बताउँछन् ।
माओवादीभित्र इमान्दार नेताकै छवि बनाए पनि पुन आफ्ना छोरा र तत्कालीन सचिवालयकै कारणले भने बारम्बार विवादमा आउने गर्छन् ।

पूर्वउपराष्ट्रपति पुनका दुई पुत्र जितेन्द्र र दिपेश दुबै सुन तस्करी प्रकरणका आरोपी हुन् । कान्छा छोरा दिपेशलाई सुन तस्करीसहित बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोप समेत लागेको थियो। सोही प्रकरणमा अनुसन्धान गर्न प्रहरीले गिरफ्तार गरेर हिरासतमा पुगेका उनी रुपन्देही जिल्ला अदालतको आदेश पछि धरौटीमा छुटेका हुन् ।

अर्का जेठो छोरा जितेन्द्र पनि सुन कारोबारका लागि चिनियाँ व्यापारीसँग सम्झौता गरी सुन ल्याएर रकम नदिई फरार भएको भिडियो सार्वजनिक भएको थियो ।

यस्तै, पुन उपराष्ट्रपति हुँदा उनको सचिवालयका रहेका एक सदस्य समेत सुन तस्करी प्रकरणमा मुछिएका थिए ।
१४ किलो सुन तस्करी प्रकरणमा मुछिएका डिल्लीबजार कालिकाथानस्थित प्लाटिनम कलेजका सञ्चालक समेत रहेका जीवन गुरुङ पनि उपराष्ट्रपति हुँदा पुनको सचिवालयमा थिए । पर्वत घर भएका गुरुङ पुन उपराष्ट्रपति हुँदा उनको सल्लाहकार रहेका थिए ।

दुबईबाट २०८० मंसिर २१ गते ल्याइएको उक्त सुन विमानस्थलबाट पक्राउ गरिएको थियो। त्यसमा गुरुङको संलग्नता रहेको अनुसन्धानबाट देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यस्तै विमानस्थलबाट पक्राउ गरिएको ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य अभियुक्त तिब्बतियन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति पुत्र दिपेशको सम्बन्ध रहेको आरोप लागेको थियो । त्यतिबेला प्रहरीको सिआइबीले यस बारे अनुसन्धान गर्न दिपेशसँग बयान पनि लिएको थियो ।

पक्राउ परेका दावा छिरिङकी पत्नी भनिएकी रोल्पाकी अमला रोकासँग उपराष्ट्रपति पुनको परिवारसँग निकट सम्बन्ध दर्शाउने विभिन्न तस्बिर समेत सार्वजनिक भएका थिए । थुनामा रहेका सुन तस्करीका मुख्य अभियुक्त दावा छिरिङकी पत्नी अमला अहिले फरार छिन् । उनैसँग पूर्वउपराष्ट्रपति पुनको पारीवारिक सम्बन्ध रहेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्