सफाई मजदूरबीच संगठन गर्दाका केही सम्झनाहरु


Published On : 2 June, 2020

  • पूर्णशोभा चित्रकार

काठमाडौं, २० जेठ । पुरानो कुरा भनेर मैले बिर्सन पनि खोजेकी थिएँ । खाली पुरानै मात्र कुराले नयाँ समयमा नयाँ चुनौतीहरूलाई सामना गर्न ठोसै भूमिका नखेल्न पनि सक्छ । राजनीति गर्ने तरिकाहरू फेरिसकेका छन् ।

जस्तो पहिलेको समयमा राजनीतिमा सरिक हुँदा जनतालाई संगठित गर्न नेताहरू घरघर पुग्नु पर्दथ्यो, अहिले जनताहरु पार्टी कार्यालय र नेताहरूको घर धाउँछन् । पहिला साना साना समूहमा भेलाहरू हुने गर्दथ्यो, अहिले ठूलठूला भेला र सभाहरू हुने गर्दछ । हिजो जनतामा भिज्नको लागि भएका डिग्रीहरू लुकाउँथे, अहिले सकेसम्म धेरै पढेको सर्टिफिकेट देखाउन सक्नु पर्दछ । हिजो धनीहरू पनि धन नभएको किसान, मजदूर जस्तो साधारण भेषभुषा लगाएर जनताको घर, खेतमा पुग्नु पर्दथ्यो, अहिले जनतालाई गर्न सक्छु भन्ने देखाउन अफिस, गाडी र अन्य बस्तुहरूको टाईफाईं देखाउने गरिन्छ ।
पहिला चुनाव हुँदैनथ्यो, अहिले चुनावबाट जित्न सक्नु पर्दछ । पहिले विरोधको राजनीति वा नाराहरू प्रधान हुन्थे, अहिले विकास निर्माणका कुराहरू प्रधान छन् । हिजो संगठनभित्र समस्याहरू आउँदा संगठनभित्रै छलफल हुन्थ्यो, अहिले फेसबुकलगायतका सामाजिक संजालहरूमार्फत समस्याहरू छताछुल्ल पार्ने गरिन्छ । हिजो टेलिभिजन, फोन, ईन्टरनेट सामाजिक संजालको सुविधा थिएन, अहिले सबै सुविधाहरु उपलव्ध छन् । त्यसकारण हिजोको कुरा मात्र रटेर बस्नुको कुनै खासै अर्थ नराख्न पनि सक्छ । हिजोको राजनीतिक कार्यकर्ताहरूले पनि अहिलेको आवश्यकताहरुलाई नेतृत्व गर्न र चुनौतीहरूलाई समाधान गर्न ठोस् ढंगले लाग्न सकेमात्र आजको पनि नेता हुन सक्छन् । त्यसको लागि आजको समयमा हिजोका असल र व्यवहारिक मुल्य मान्यताहरुलाई जगेर्ना गर्न, अनुशरण गर्न र लागू गर्न आवश्यक छ । पुरानो र नयाँको प्mयूजनबाट मात्र समाज र देश अगाडि बढ्न सक्दछ ।
मैले न्हूकोठाको बारेमा लेखेपछि सफाई मजदूर क्षेत्रका एक जना यूवा नेताले ‘दिदी सफाई मजदूर आन्दोलनको नेतृत्व गर्ने पनि त्यै न्हूकोठा होईन र ?’ भन्ने प्रश्नले मेरा पुराना सम्झनाहरुलाई ब्युँताइदियो । त्यसमाथि हालसालैको रकुमको त्यो त्रासदीपूर्ण कथाले मलाई केही शब्द लेख्नका लागि कर गर्यो ।
काठमाडौंको लगनटोलभित्र सबल बहाल क्षेत्रमा सफाई मजदूरहरूको मुख्य वस्ती रहेको छ । त्यस वस्तीको कथाहरू त सुचोलनाबाट धेरै पटक सुन्दै आएको थिएँ । त्यससँग सम्बन्धित केही गीत र निबन्धहरू पनि सुनेकी थिएँ । सवलबहालका मजदूरहरूमाथि चर्को सामाजिक शोषण र भेदभाव त थियो नै, त्यसमा सबल बहालकै बासिन्दाहरूमा ‘कर्मको भोगले छुवाछुत, शोषण, थिचोमिचो सहनु परेको’ भन्ने गहिरो अन्धविश्वास रहेको थियो । त्यो विचार सवलबहालका नागरिकहरूको दिमागबाट हटाउनको लागि सुलोचनाले निकै धेरै कोशिश गर्नु भएको हो भन्ने बुभ्mन मलाई गाहारो थिएन । उहाँले ‘कर्मया भोग धैगु छु’ भन्ने निबन्धलाई निकै मिहेनतका साथ लेख्नुभएको थियो ।
विसं २०३५ सालमा सुलोचनाले सवलबहालको जिम्मा सुम्पेपछि म त्यहाँ नियमित रूपमा जान थालेँ । अहिले मैले त्यो बस्ती कस्तो थियो भन्ने बयान गरूँ कि नगरूँ ? म नै अलमलमा छु । हिजोआज बस्तीको त्यो बेलाको अवस्थाबारे बयान गर्न बस्तीकै मान्छेहरू पनि राजी नहोलान् सायद ।
बस्तीको अनुमति भएमा कुनै दिन लेखुँला । बस्तीमा पुगेपछि अनुभव भयो सुलोचनाले सुनाउने गर्नुभएको कथाहरू साँचो कथा नै रहेछ । बस्तीभित्र पुगेपछि भने मेरो जिम्मेवारीको भावना झनै बलियो भएको अनुभव गरेँ । तर, नियमित रूपमा वस्तीमा पुग्न सुलोचनालाई जस्तै मलाई त्यति सजिलो नभएको अनुभव गरेँ । सुलोचना त्यहीँकै एक विद्यालयको शिक्षिका भएको हुनाले बस्तीमा आउजाउ गर्न सजिलो हुन्थ्यो ।

म बस्तीसँग कुनै साइनो नभएको हुनाले केही अप्ठ्यारो महशुस भयो । उ बेला मैले बेलिबटन पाइन्ट र शर्ट लाउँथे, जुन पहिरन बस्तीभित्र छिर्न सजिलो थिएन । बस्तीभित्र पस्न सजिलो बनाउन मैले पनि बस्तीका महिलाहरूले लगाउने चलनचल्तीका लुगाहरू लगाउन थालेँ । खद्दरको धोती, डम्बर कुमारीको पछ्यौरा, कपाललाई बेरेर जुरो पारी चप्पल लगाएर बस्तीभित्र छिर्दा मलाई सजिलो अनुभव भयो । तर, परिवार, टोल र चिनजानका साथीहरूले अनौठो मान्न थाले । त्यो नौलो भेषभूषामा बाटोमा भेट्दा कतिपय साथीभाई र आफन्तहरूले मलाई देखेपनि नदेखेको र नचिनेको जस्तो गरी हिँडेको पनि अनुभव गरेकी छु मैले ।
मेरो नयाँ जिम्मेवारी र भेषभूषाले मलाई नयाँ उर्जा दिएको अनुभव गरेँ । साँझमा बस्ती भित्रको घरमा पाका मान्छेहरू, युवाहरू, बालबालिकाहरू भेला भएका हुन्थे । मलाई लाग्दथ्यो किताबमा पढेको आधार ईलाका भनेको त्यही थियो । उपस्थित सदस्यहरू उत्सुकतापूर्वक मेरो कुरा सुन्थे, पिर व्यथाका गीतहरु खुलेर गाउँथे, प्रश्न–उत्तर गर्थे, तर्क–वितर्क गर्थे, हरेक जोखिममा काम गर्न उत्साहित हुन्थे ।
जिम्मेवारीको बारेमा छलफल गर्थे र जिम्मेवारी पूरा भएको रिपोर्ट सुनाउँथे । उनीहरूका आँखाहरू उत्साह, आशा र जोशले हर्दम चम्केका हुन्थे । बस्तीभित्र एक जना आमा हुनुहुन्थ्यो र सँधै भन्नु हुन्थ्यो, ‘नानी यी केटाकेटीहरूलाई अलि राम्रोसँग बुझाइदिनु । धेरै काम गर्नुछ ।’ सहभागीहरू बिहानदेखि दिनभरको कामले निकै थाकेका देखिएता पनि उनीहरू हरेक कुरामा उत्सुकतापूर्वक सहभागि हुन्थे । मैले त्यो बेला ‘घोडाबाट ओर्लेर पूmलहरू हेर्नु’ भनेको के हो र जनतासँग एकाकार हुनु भनेको के हो भन्ने मैले अझै बुभ्mन थालेँ ।
दिनभरको कामपछि माम के त ? असुरक्षित रोजगारी थियो । बस्तीका मान्छेहरू कुखुरा नबाँस्दै टोलका गल्लीहरूमा च्वाफी, खर्पन, टीन, बोरा आदि लिएर टोलहरूमा पुगीसकेका हुन्थे । टोलका मान्छेहरू नबिउँझिदै सडक र गल्लीहरू सफा बनी सकेका हुन्थे । तर उनीहरूको नियमित तलब हुँदैनथ्यो । एक, दुई, तीन रूपैयाँ महिनाको पाउँथे र ‘जजमानहरू’बाट, चाडवाडमा केही कोसेली पाउँथे । नगरपालिकाहरूमा काम गर्नेहरूको पनि नियमित जागिर भन्ने हुँदैनथ्यो । हाकिमको दृष्टिमा दायाँ बायाँ हुने बित्तिकै जागिर चट हुन सक्थ्यो । जजमान र हाकिमहरूलाई बच्चादेखि बुढासम्मलाई बाजे भनेर सम्बोधन गर्नुपर्दथ्यो । कसैको र कहीँको कोठा चौकाभित्र छिर्न पाउँदैनथे । कहीँको अफिसको मेचमा बस्ने त सपनाको कुरामात्र हुन्थ्यो । कुनै पनि बेला स–सानो कुरामा पनि अश्लिलदेखि सबै खालका गाली पाउँथे । हो मान्छेले मान्छेको दर्जा पाउन त्यो स्थितिलाई बदल्नुपर्ने खाँचो थियो । तर कसरी ? सयौँ बर्षदेखिको त्यो परम्परालाई भत्काउने कसरी ?
सवल बहालमा सानो ठूलो जे भने पनि एउटा बलियो संगठनको रूप बनिसकेको थियो । त्यसैले मान्छेहरूको साहस पनि थियो, केही गरी देखाउने । बेला थियो, भुट्टोलाई फाँसी दिएको विरोधमा देशभरी आन्दोलन चलिरहेको । आगोमा घिउ थपियो । सवल बहाल वस्तीका मजदुरहरूले पनि आन्दोलन गर्ने निधो गरे । तर सजिलो थिएन । जो जो आन्दोलनमा सरिक हुन्थे, त्यसको जागिर धरापमा पर्ने खतरा थियो । त्यसको लागि देशका विभिन्न भागमा रहेका वस्तीका जनताहरूलाई पनि चेतना फैलाउने र संगठित गर्न आवश्यक थियो । वस्तीवासीहरूले निकै धेरै मेहनत गर्नु आवश्यक थियो । बैठकहरू बिहान, दिउँसो, बेलुकी कुनै पनि बेला गर्नु आवश्यक थियो ।
बैठक गर्ने ठाउँमध्ये एउटा महत्वपूर्ण ठाउँ ‘न्हूकोठा’ बन्न पुग्यो । घर र समाजको हिसावले न्हूकोठामा सवलवहाल बस्तीका कसैलाई पनि ल्याउने अनुमति थिएन । मेरी माइली भाउजु दिलशोभालाई मात्र थाहा थियो । तर उहाँ थाहा नपाएको जस्तो गरी बसिदिनुहुन्थ्यो र घरको अरू कसैलाई त्यसबारे सुनाउनु हुन्थेन । त्यसले मलाई निकै सजिलो भएको थियो ।

चेतना फैलाउन सजिलो बनाउनको लागि हामीले च्वाफी नामक हस्तलिखित पत्रिका पनि निकाल्यौँ ।
म खद्दरको धोती, चुल्ठो बेरेको कपाल, डम्बरकुमारीको पछ्यौरा र चप्पल लगाएर वस्तीको आन्दोलनकारीहरू सँगसँगै विभिन्न स्थानहरूमा पुग्थेँ । त्यसरी जाँदा म पछि बस्थेँ र कुरा बस्तीका मान्छेहरूलाई नै गर्न लगाउँथेँ । त्यसो गर्दा उनीहरूको क्षमता बृद्धि हुन्थ्यो । गल्ती भएमा छलफल गरी सच्याइन्थ्यो । काठमाडौंको सवलबहाल, ढल्को, किर्तिपुर, पाँगा, ललितपुर, भक्तपुर, काभे्रको पनौती, नालाजस्ता ठाउँहरू नै आन्दोलन र संगठनको लागि लक्षित बस्तीहरू थिए । ती ठाउँहरूमा घुम्दा के कुरा थाहा लाग्यो भने हरेक नेवार बस्तीमा चारवटा ढोकाहरू हुने गर्दछन् र सफाई मजदूरहरू चार ढोकाबाहिर मात्र बस्न पाउने रहेछन् । के कारणले त्यसतो गर्यो भन्ने बारेमा ईतिहासकार र समाजशास्त्रीहरूले बताउँलान् ।
हाम्रो प्रयासले सफलता पाउँदै गयो । लक्षित गरेका सबै ठाउँहरूमा सफाई मजदूरहरुले एकै चोटी आन्दोलन शुरू गरे । उनीहरुले धर्नादेखि लिएर फोहर उठाउन बन्द गरे । आन्दोलनकारीहरूले अनेकौँ धाकधम्की खप्नु परेपनि आन्दोलन पछि हटेन । शहरमा फोहरको डुँगुरले भरिई दुर्गन्ध फैलिन थाल्यो । आखिर एक दिन त्यस्तो दिन आयो सफाई मजदूरहरु र नगरपालिकाका हाकिमहरुबिच वार्ता भयो । त्यो नेपालको सफाई मजदूरहरुको ईतिहासमा पहिलो घटना बन्यो । सफाई मजदूरहरुले केहि सुविधाहरु प्राप्त गरे ।
विसं २०३६ सालपछि यूनियन खोल्न पाएपछि सफाई मजदूरहरूले पनि युनियन खोले । श्यामप्रसाद शर्मा समूह तत्कालिन मालेमा समाहित भयो । त्यसपछि सायद २०४० सालतिर मालेको तर्फबाट मजदुर संगठन हेर्ने फाँटलाई सफाई मजदुर क्षेत्रको जिम्मा दिई म त्यहाँबाट विदा भएँ । त्यसपछिका समयमा सवल बहालका मजदूरहरूको एउटै गुनासो रहिरह्यो कि ‘मजदूर युनियनमा गैरमजदूरहरु नेता बने र मजदूरको नाममा राज गरे ।’

प्रतिक्रिया दिनुहोस्