Logo
Logo

आइजीपी कुँवरको ‘सम्धी’ मोह


3.5k
Shares

काठमाडौं । नेपाल प्रहरीमा डिआइजीको दरवन्दी थप गर्ने र बढुवाको सिफारिस गरिरहँदा संगठनभित्र सम्धी साइनोको विषयले चर्चा पाएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर र एसएसपी भोला रावलबीच सम्धी साइनो जोड्ने प्रसंगले प्रहरी प्रधान कार्यालयमा चर्चा पाएको हो । आइतबार राती उनको बढुवा सिफारिस पनि भैसकेको छ ।

एसएसपी रावल यसैपटक बढुवाको लाइनमा छन् । उनका व्याची कुँवर आइजीपी भैसकेका छन् । अधिकांश व्याचीहरू एआइजीबाट घर बिदा भैसकेका छन् भने केही एआइजी हुने लाइनमा छन् । रामदत्त जोशी, किरण राणा एआइजीबाट बिदा भैसके । सन्दीप भण्डारी, मीरा चौधरी पनि एआइजीबाट बिदा भैसकेका छन् ।

टेकप्रसाद राई, किरण बज्रचार्य, भीम ढकाल एआइजीमा छन् । उनीभन्दा पछिका दीपक थापा, टेकबहादुर तामाङ, सुदीप गिरी एआइजी छन् । रावलभन्दा जुनियर दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारीहरू डिआइजी भैसके । तर, रावल अहिले पनि एसएसपी रहेका छन् । रावलका व्याची कृष्णहरि पोखरेल अहिले डिआइजीका रुपमा बागमती प्रदेशमा छन् । चन्द्रकुवेर खापुङ, लालमणी आचार्य पनि उनीभन्दा जुनियर नै । रावलको पालो यसपटक डिआइजी हुने रहेको छ ।

प्रहरी महानिरीक्षक कुँवरसँग सम्धी साइनो गाँसिने निश्चित भएपछि रावललाई जसरी पनि डिआइजी बनाउनुपर्ने कसरतमा आइजीपी थिए र उनको दोस्रो नम्बरमा सिफारिस पनि भएको छ । रावलसँगै गणेश चन्द, ध्रुवराज राउत पनि एसएसपीमै छन् । उनीहरूको पनि डिआइजीमा बढुवा सिफारिस भएको छ । उनीहरूकै व्याची दूर्गा सिंह चन्द जो गणेश चन्दकी श्रीमती हुन् उनी एआइजीको बढुवा लाइनमा छिन् । कुवेर कडायत, भरत बोहोरा र दूर्गा सिंह यसपटक बढुवा हुने चरणमा छन् ।

आफ्नो ब्याचमेट आईजीपी भएर चार महिनापछि अवकाश हुन लाग्दा ब्याचमेटहरू भने डीआईजी बढुवाको दौडमा लाग्न बाध्य छन् । यसपटक बढुवामा छुटेमा उनीहरू एसएसपीमै अवकाशमा जानेछन् । भोलाबहादुर रावल र ध्रुवराज राउत २०७८ मंसिर १२ मा एसएसपी भएका हुन् ।

मेरिट लिस्टको चौथो नम्बरमा सिद्धीविक्रम शाह, पाँचौँमा सुशील सिंह राठौर र छैटौँ नम्बरमा उमाप्रसाद चतुर्वेदी छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक र ओमबहादुर राना बढुवाको सातौँ, आठौँ र नवौँ नम्बरमा छन् । राना भने छुटेका छन् । उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ स्थानान्तरण भएका थिए ।

साथै, २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका एसएसपीहरू पनि डीआईजीमा बढुवा हुने प्रतिस्पर्धामा थिए । ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया सो ब्याचका प्रतिस्पर्धी हुन् । यी सबैलाई पालो पुर्याउनका लागि मंसिरको अन्तिममा डिआइजी बढुवा सिफारिस हुने बताइएको छ । मंसिरको अन्तिममा दुई एआइजी रिक्त भएपछि दुई डिआइजी खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्