सैन्य बल, प्रविधि, मिडिया र रणनीतिका माध्यमले पश्चिमा शक्तिले संसारमा पाँच सय वर्ष प्रभुत्व बनाउन सके । युरोपका देशहरू बेलायत, फ्रान्स, स्पेन, बेल्जियम, डेनमार्क, पोर्चुगललगायतका देशहरूले त एसिया, अफ्रिका, अस्ट्रेलिया, दक्षिण र अमेरिकी महादेशलाई अंशबन्डा गरेजस्तै भाग लगाएर उपनिवेश नै खडा गरेका थिए ।
दोस्रो विश्वयुद्ध अघिसम्म त बेलायती साम्राज्यमा कहिले सूर्यास्त हुँदैनथ्यो भन्ने भनाइ नै थियो । साम्राज्यवादी विचारधाराबाट पश्चिमाले संसारभर प्रभुत्व जमाएका थिए । साम्राज्यवाद दोस्रो विश्वयुद्धपछि धमाधम पतन भयो तर पश्चिमा प्रभुत्व कायमै रह्यो ।
दोस्रो विश्वयुद्धपछि पनि भारत र चीन जस्ता देशहरूमा पश्चिमाकै प्रभाव लामो समयसम्म रह्यो । जापानमार्फत उनीहरूले एसियामा प्रभाव जमाए । दक्षिण अफ्रिका र इजिप्टमार्फत् अफ्रिकामा प्रभाव बनाए । अमेरिका र क्यानडा त उनीहरूकै रह्यो । २१औँ शताब्दीमा आइपुग्दा पनि संसारका बलिया अन्तर्राष्ट्रिय संस्थाहरू उनीहरूकै प्रभावमा रहेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन हुन् या मानवअधिकार र सुशासनको अभियानमा काम गर्ने संस्था नै उनीहरूको प्रभावमा परेको देखिन्छ । त्यसैले राष्ट्रसङ्घको पुनः संरचनाको माग जोडतोडले उठिरहेको छ । त्यस्तो माग गर्नेमा भारत, अफ्रिकी युनियन, ब्राजिल, जापानलगायत देशहरू छन् ।
रुस यसको पुनः संरचनाको पक्षमा देखिन्छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स शिखर सम्मेलनमा यो विषय उठाए पनि । पश्चिमा प्रभुत्वका अन्तर्राष्ट्रिय आर्थिक संघसंस्थाको विकल्पमा ब्रिक्सले नयाँ योजना ल्याउन खोजेको चर्चा चलिरहेको छ । डलरलाई चुनौती दिने नयाँ साझा मुद्रा ल्याउन गैरपश्चिमा देशहरूको प्रयास चलिसकेको छ ।
यी र यस्ता घटनाक्रमले संसारमा अझै पनि पश्चिमा प्रभुत्व रहेको यथार्थ हो । खाडीको तेल खानी होस् या अफ्रिकाको हीरा र सुनखानी पश्चिमा देशहरूका कम्पनी र तिनका मालिकको हालीमुहाली छ । त्यहाँको खानी कब्जा गर्न भएका गृहयुद्धमा उनीहरूको प्रत्यक्ष अप्रत्यक्ष भूमिका छर्लङ्ग छ । रुवान्डाको हुटु र टुट्सीको जातीय युद्धमा डेनमार्कको लामो डिजाइन बुझ्न सकिन्छ । एकातर्फ युद्धको डिजाइन अर्कोतर्फ मानवअधिकारको आवाज, दुवै पश्चिमतर्फबाट चल्छ । यी सबै प्रभुत्व राख्ने पश्चिमा रणनीति नै हो ।
विश्वका अमूल्य बौद्धिक सम्पत्तिमा उनीहरूको प्रभुत्व छ । एकातर्फ पैसा अर्कोतर्फ पैसा व्यवस्थापनको ब्रेन । एकातर्फ प्रविधि अर्कोतर्फ प्रविधि विकास गर्ने ब्रेन । यसकारण पनि उनीहरू प्रभुत्व बनाउन सकेका छन् । तर, समय एकैनास हुँदैन । सधैँ पश्चिमतर्फ मात्र घाम रहँदैन । अन्धकारपछि बिहान भई पूर्वबाट घाम उदाउँछ र न्यानो हुन्छ । संसार अहिले त्यही अवस्थातर्फ लम्किरहेको छ ।
संसार फेरि नयाँ नयाँ युद्धमा फसिरहेको छ । यी युद्धहरू पश्चिमाको प्रभुत्व बचाउने सकसकै परिणाम हो । एसियामा चीन र भारतको जर्बजस्त शक्तिवृद्धिले नयाँ परिस्थिति सृजना भएको छ । चीन विश्वको दोस्रो धनी देश बनिसकेको छ । चन्द्रमा र मङ्गल ग्रहमा मान्छे पठाउने महत्वाकांक्षी योजनासहित बढेको छ ।
भारत विश्वको पाँचौ धनी देश बनेर चाँडै तेस्रो स्थानमा पुग्दैछ । उसले पनि चन्द्रमामा यान पठाइसकेको छ । पश्चिमा निकट एसियाली शक्ति जापानको अर्थतन्त्र खस्कँदो छ । इन्डोनेशिया पनि अगाडि बढिरहेको छ ।
एसियाको सबैभन्दा ठूलो शक्ति उसको जनसङ्ख्या र स्रोत हो । प्रविधिमा पनि अगाडि बढेपछि एसिया झन् शक्तिशाली बन्दै गएको छ । अर्कोतर्फ, यहाँका शक्तिमध्ये चीन र भारतले सैन्य शक्ति र रणनीतिमा पनि अब्बल बनाउँदै लगेका छन् । जापान त त्यसै पनि प्रविधिमा अब्बल छ ।
एसियाको प्रभाव बढ्दै गएपछि रुसले पनि चीन र भारतसँग सम्बन्ध झन् कसिलो बनाउँदै लगेको छ । आर्थिक गतिविधि पनि बढाएको छ । युक्रेनसँगको युद्धपछि पश्चिमासँग रुसको सम्बन्ध टाढिँदै गयो र उसले विकल्पमा एसिया नै देख्यो ।
वर्तमानमा रुसको तेलको बजार भारत र चीन नै भएका छन् । यी घटनाक्रमले अब संसार पश्चिमा मोडलमा जाँदैन भन्ने देखाइसकेको छ । हङ्गेरीका प्रधानमन्त्री भिक्टोर अर्बनले पाँच सय वर्षसम्मको पश्चिमा सभ्यताको प्रभुत्वको अन्त भएको नै बताए । उनले एसियाली देशहरू शक्तिशाली बनेको विश्लेषण गरे । पश्चिमा शक्तिको भन्दा एसिया जनसंख्या र प्रविधिमा अगाडि रहेको उनको तर्क थियो ।
हुनपनि एसियासँग विश्वको कुल जनसंख्याको ७० प्रतिशत रहेको छ । विश्व अर्थतन्त्रमा एसियाको ७० प्रतिशत नै हिस्सा छ । चीन, भारत, इन्डोनेशिया, पाकिस्तान र बङ्गलादेश गरी पाँच एसियाली देश त विश्वको बढी जनसङ्ख्या भएका दश देशहरूको सूचीमा छन् । संसारमा पूर्वीय सभ्यताको प्रभाव बढ्दै गएपछि धेरै शक्तिहरूले आफ्नो बाह्य सम्बन्धको रणनीति नै बदलेका छन् ।
रुसको पश्चितर्फभन्दा पूर्वतर्फ ध्यान खिचिएको छ । अफ्रिका र दक्षिण अमेरिकामा पनि त्यही स्थिति विकास भएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्दै गर्दा उनले पनि एसियालाई मध्यनजर गरी रणनीति बढाउने देखिइसकेको छ ।
एसियाली मूलका रामाश्वामीले मस्कसँगै उनको टिममा प्रशासनसम्बन्धी महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुप्तचर हेर्ने जिम्मेवारी पाएकी तुलसी गब्बड हिन्दू धर्मावलम्बी हुन् । चीनसँग कठोर नीति र भारतसँग नरम नीति बनाएर बढ्ने रणनीतिका साथ मार्को रुबियो विदेशमन्त्री बन्ने निश्चित भइसकेको छ ।
एसियाका दुई शक्ति चीन र भारतलाई नजिक आउन नदिने ट्रम्पको रणनीति देखिन्छ । यी दुईको निकटता एसियाको तीव्र प्रगतिको आधार बन्न सक्छ । त्यो भनेको पश्चिमा शक्तिको प्रभुत्व गुम्ने क्रम तीव्र हुनु हो, जुन अमेरिका चाहँदैन ।
रोचक तथ्य, ट्रम्पले वित्त हेर्ने जिम्मेवारी विवादास्पद जर्ज सोरसको संस्थासँग काम गरेका स्कट बेसेन्टलाई चयन गरिसकेका छन् । खुलापनका लागि भन्दै पश्चिमा स्वार्थमा विभिन्न देशका संस्था र व्यक्तिमा लगानी गर्ने सोरसको संस्थामा काम गर्ने व्यक्ति अमेरिकाको वित्त हेर्ने कमान्डर नै बनेका छन् ।
अमेरिकालगायत पश्चिमा प्रभुत्व बचाइराख्ने गरी ट्रम्पले बनाएको रणनीतिले काम गर्ला या नगर्ला ? प्रतीक्षा गर्नै पर्छ । जे जस्ता अवरोधहरू भएपनि एसियाको जनसङ्ख्या र प्रविधिले अबको शताब्दी उसकै प्रभुत्व स्थापित हुनेगरी बढिरहेको देखिन्छ । भारतको ठूलो जनसङ्ख्या विश्वभर छरिएका छन् । उनीहरू एकताबद्ध पनि देखिन्छन् । जसका कारण उनीहरूले अमेरिकाको राष्ट्रपति चुनावमा आफूलाई निर्णायक शक्ति बनाए ।
युरोपको शक्तिशाली देश बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री नै बने । प्रवासमा रहेका नागरिकको एकताले पनि कुनै देशलाई बलियो बनाउन सक्छ भन्ने उदाहरण हो यो । एसियाको चौतर्फी प्रभाव बढ्दै जानुको लाभ नेपालले पनि लिनसक्नुपर्छ ।
देशको भूगोललाई मनन गरेर र इतिहासबाट पाठ सिकेर नेपालले पनि बाह्य सम्बन्धको पुनः परिभाषा गर्न जरुरी छ । संसारमा पश्चिमा प्रभुत्व गुमेको निष्कर्षमा स्वयं पश्चिमाहरू नै स्विकारिरहेका छन् । नेपाल पनि त्यसअनुसारको विदेश सम्बन्धको रणनीति तयार गर्न अनिवार्य भइसकेको छ ।