Logo
Logo

नीशमको अलराउण्ड प्रदर्शनमा जनकपुरको लगातार तेस्रो जित


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्टस ७ विकेटले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले दिएको १ सय ३८ रनको लक्ष्य निर्धारित १७.१ ओभरमै केवल तीन विकेट गुमाएर १४३ रन बनाएको हो । पोखरा भने लगातार दोस्रो खेलमा पराजित भयो ।

पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए । ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे ।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो । पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन् । ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके। न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए ।

अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे । अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे । कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन् । उनी ६ रनमा स्टमपिन भए । दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे ।

मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
१९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि रेमन्ड राइफरले २० बलमा १७ रन जोडे ।

अन्तिम ओभरमा आउट भएका स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे। अन्तिम ओभरको सुरुवाती तीन बल डट खेलेपछि उनलाई किशोर महतोले आसिफ शेखबाट क्याच गराए । बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए। जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए ।

लगातार तीन खेल जितेको जनकपुर ६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्